तेस्रो बाग्मती गोल्डकपः न्यु डाँफे मकवानपुरको विजयी सुरुवात
हेटौंडा । बाग्मती गोल्डकप फुटबल प्रतियोगितामा आज भएकोे प्रतियोगितामा नवजनजागृती युवा क्लब सिमरालाई ०–४ गोल अन्तरले पछाडि पार्दै न्यु डाँफे मकवानपुर विजयी भएको छ । अब डाँफेले सेमिफाइनल प्रवेशको लागि जावलाखेल युवा क्लव सँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिष्प्रर्धात्मक खेलमा ४० औं मिनेट मकवानपुरको तर्फबाट विश्व अधिकारीले प्रहार गरेका थिए । यसैगरी मकवानपुरबाट खेलिरहेका युवा स्ट्राइकर प्रिजेन तामाङले ४४ औं मिनेटमा दोस्रो गोल गरे । उनले सिमराका गोलरक्षक सुवास बलले गरेको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए ।
खेलको ७० औं मिनेटमा मकवानपुरको तर्फबाट हिसुब थपलियाले तेस्रो गोल गरेका थिए । उनले कृष्ण लामाको क्रसमा गोल गरेका थिए । खेलको ९१ औं मिनेटमा रविन स्याङ्तानले चौथो गोल गरे । खेलमा मकवानपुरका हिसुब थपलिया म्यान अफ दी म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिता अन्तर्गत् सोमबार भोलि आयोजक बागमती खेलकुद विकास समिति र च्यासल युवा क्लबबीच खेल हुनेछ । प्रतियोगिता फागुन १२ गते सकिनेछ । मकवानपुरको पूर्वीक्षेत्रमा पर्ने बागमती गाउ“पालिकामा आयोजित गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ ।
प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीले ५ हजार नगद प्राप्त गर्ने छन्। पहिलो बाग्मती गोल्डकपको उपाधि हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधि सरस्वती युवा क्लबले हात पारेको थियो।

बाइलाइन नेपाल











