रामेश्वर कमरेडलाई मन्त्री बन्न रोकेकै हो: शाक्य

बाइलाइन नेपाल
February 14th, 2020

प्रदेश सरकार बनेको दुई वर्ष बित्यो । प्रदेशको नाम र स्थायी राजधानी बल्लबल्ल कायम गरियो । तर २ वर्षको अवधिमा प्रदेश सरकारले प्रभावकारी काम गरेको छैन ।

स्रोत, साधन भौतिक पूर्वाधार र कर्मचारीको कमी आफ्नो ठाउँमा होला । तर सामूहिक निर्णयबाट प्रदेश सरकार नचल्दा काम प्रभावकारी हुन सकेको छैन । हिजो राजधानी अस्थायी थियो । अहिले स्थाई बनेको छ । अब पनि अस्थायी मनस्थितिले चलिरहने हो ?

मुख्यमन्त्री एकलौटी चल्दा समस्या भो, समीक्षा गर्नुपर्छ

पार्टीको आदेशले प्रदेशको राजधानी हेटौँडा भएको हो । पार्टीले ह्वीप जारी नगरेको भए राजधानी काभ्रे हुने थियो । संख्याको हिसाबले काभ्रेको पक्षमा धेरै थिए ।

पार्टीको निर्देशन मान्नुपर्छ भनेर हेटौँडा राखिएको हो । मुख्यमन्त्रीज्यूले सबै मैले भनेको हुनुपर्छ भनेर सोच्नु भएन ।

पार्टी कमिटीमा सल्लाह गरेर काम गर्नुपर्छ । उहाँको व्यक्तिगत काम होइन नि । अनि सरकारमा बसेर यो गर्न सकिन यसले गर्न दिएन भन्न त मिलेन नि । जनताको मन बुझ्ने गरी काम गर्नुपर्छ ।

प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउन सरकारको कामको समीक्षा हुनुपर्छ । एकलौटी ढंगले चल्दा केही समस्या आएको हो । मुख्यमन्त्री मात्र होइन टिम छ । मुख्यमन्त्रीले मन्त्रीहरूसँग सहयोग लिने, विश्वास जित्ने, हार्दिकतापूर्वक काम गर्ने हो ।

तर मुख्यमन्त्री आफ्नै पारामा चल्नुहुन्छ । त्यसैले सरकारको कामको समीक्षा गर्नुपर्छ । सरकारको काम कसरी प्रभावकारी बनाउने ? कमजोरी के छ ? सच्याउनको लागि पनि सरकारको समीक्षा हुनुपर्छ । मुख्यमन्त्रीले समग्र नसोचे पनि पार्टीले त समग्र सोच्नु पर्‍यो नि ।

संसदलाई खुराक खोई ?

हेटौँडामा सांसदको कामै हुँदैन । एक–दुई घण्टाभन्दा संसद चल्दैन । संसदलाई प्रभावकारी बनाउने काम सरकार हो । संसदलाई खुराक दिने काम सरकारको हो । तर यो विषयमा सरकार गम्भीर भएको देखिँदैन ।

अनि रामेश्वर कमरेडलाई मन्त्री हुन रोकेँ

सरकारको काम प्रभावकारी बनाउने विषयमा छलफल गर्न गत मंगलबार मुख्यमन्त्री, मन्त्री, पार्टीको प्रदेश कमिटीको अध्यक्ष, सचिव, इन्चार्ज, सह–इन्चार्ज र पदाधिकारीको बैठक बसेको थियो ।

बैठकमा पार्टी कमिटीले पार्टी र सरकारबीच संयोजन कमजोर भयो, बलियो बनाउनुपर्छ भन्ने विषयमा छलफल पनि भयो ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले केशव स्थापितलाई हटाएपछि खाली रहेको भौतिक योजना तथा विकास मन्त्रालयको जिम्मेवारी रामेश्वर फुँयाललाई दिनुपर्‍यो भनेर प्रस्ताव गर्नुभयो । उहाँले शपथग्रहणका लागि अनुमति माग्नुभयो ।

बैठकमा मैले मेरो सहमति र अनुमति छैन भनेको हुँ । एउटा–एउटा मन्त्री छान्दै राख्ने होइन । पहिले समग्र सरकारको मूल्यांकन हुन जरुरी छ । मन्त्री को बनाउने को नबनाउने, यो पछि छलफलको विषय हो । पहिले सरकारको कामको मूल्यांकन गर्नु जरुरी छ ।

समावेशी भन्ने अनि महिला मन्त्री खोई ?

केशव स्थापितलाई हटाएपछि उक्त मन्त्रालयको काम पनि मुख्यमन्त्रीले सम्हाल्दै आउनुभएको छ । उहाँलाई गार्‍हो भए तत्कालका लागि अरु मन्त्रीलाई जिम्मा दिए भयो नि । किन मन्त्री बनाउन हतार भयो ?

अर्कोतर्फ सरकारमा एक जना पनि महिला मन्त्री भएन भनेर चौतर्फी आलोचना भइरहेको छ । पार्टीले समावेशीको वकालत गर्ने अनि महिला मन्त्री खोइ ? त्यसैले अहिले नै हतारमा मन्त्री बनाउनु हुँदैन भन्ने मेरो भनाइ हो ।

फेरि, मैले मात्र भनेको पनि होइन बैठकमा पार्टीका अन्य कमरेडहरूले पनि तत्काल मन्त्री नबनाऔँ भनेको हो । अनि माथिबाट पार्टी नेतृत्वले पनि शपथग्रहण रोक्न लगाएको हो ।

गुटको नेतृत्व गरेको छैन

प्रदेश कमिटीका बहुमत सदस्यले भनेको कुरा गुटको हो कि पार्टीको हो ? म इन्चार्ज हुँ । मैले गुटको नेतृत्व सम्हाल्नुपर्छ र ? मैले बोलेको कुरा गुटको हुन्छ ? योजस्तो संकीर्ण सोच अरु के हुन सक्छ ?

मन्त्री कस्ता व्यक्तिलाई बनाउने कस्तालाई नबनाउने भन्ने विषय ठूलो होइन । सरकारलाई प्रभावकारी, समावेशी र जवाफदेही कसरी बनाउने भन्ने चाहिँ मूल प्रश्न हो ।

प्रदेश सरकारले जति राम्रो काम गर्‍यो केन्द्र र स्थानीय सरकारलाई बल पुग्ने हो । त्यसअनुरुप काम हुनुपर्‍यो भनेको मात्र हो । मुख्यमन्त्रीले चिन्ता नलिए हुन्छ ।

मुख्यमन्त्रीले चिन्ता लिनु पर्दैन । उहाँलाई भन्दा पार्टीलाई बढी चिन्ता छ । नेपाल कम्युनिस्ट पार्टीले सबै तहमा नेतृत्व गरेको छ ।

सिंगो पार्टीले पनि सोच्नुपर्छ । हामी चिन्तित छौं । त्यसैले सरकार कुन डंगले चल्ने हो पार्टीले छिट्टै निर्णय लिन्छ । यसमा कसैले टाउको दुखाउनुको अर्थ छैन ।

(नेकपा बागमती प्रदेशकी इन्चार्ज अक्ष्टलक्ष्मी  शाक्यसँग शिलापत्रकर्मी दिनेश गौतमले गरेको कुराकानीको संक्षिप्त अंश साभार )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*