कुन शक्तिले रोक्यो रामेश्वर फुँयाललाई मन्त्री बन्नबाट ?

बाइलाइन नेपाल
February 12th, 2020

हेटौंडा । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बन्न तयारी अवस्थमा रहेका नेकपाका नेता रामेश्वर फुँयालको सपथग्रहण नै एकाएक रोकिएको छ । मंगलाबार बसेको बग्मती प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले उक्त मन्त्रालयमा फुँयाललाई नियूक्त गर्ने टुंगो लगाएको थियो ।

आज बुधबार अपरान्ह ४ बजे फुँयाललाई सपथ ग्रहणका लागि तयार हुन मुख्यमन्त्री कार्यालयले आग्रह गरेको थियो । प्रदेश प्रमुखको कार्यालयमा हुने सपथग्रहणका लागि फुँयाल तयार थिए । तर दिउँसो एकाएक उनको सपथग्रहण नै रोकिएको छ ।

सपथग्रहण रोकिएपछि नेकपा बाग्मती प्रदेशभित्र रहेको विवाद पनि सतहमा आएको छ । सपथग्रहणको कार्यक्रम समेत तय भइसकेको अवस्थामा कुन शक्तिले फुँयाललाई मन्त्री बन्नबाट रोक्यो भन्ने चर्चा सुरु भएको छ । फुँयाल मन्त्री बन्ने समाचार समाचार माध्यममा आज बिहानै देखि प्रकाशन÷प्रशारण भएका थिए । सपथग्रशण रोकिएपछि अहिले फुँयाल झन चर्चाको पात्र बनेका छन् ।

तत्कालिन एमालेबाट प्रदेशसभाम सदस्यमा निर्वाचित भएका फुँयाललाई तत्कालिन माओवादी केन्द्र नेताले मन्त्री बन्नबाट रोकेको चर्चा हुन थालेको छ । उनलाई भौतिक पूर्वाधार विकास मन्त्री बन्न नदिन तत्कालिन एमालेका नेताहरुले समेत लविङ गरेपछि उनको आजै मन्त्री बन्ने तयारी विफल भएको छ ।

मुख्यमन्त्री पौडेलले केशव स्थावितलाई बर्खास्त गरेपछि भौतिक पूर्वाधार विकास मन्त्री मुख्यमन्त्रीले नै हेर्दै आएका छन् । बजेटको हिसाबले प्रदेशकै ठूलो रहेको भौतिक मन्त्रालयमा जान अहिलेका मन्त्रीहरुको समेत दौडधूप सुरु भएपछि फुँयालको यात्रा रोकिएको एक प्रदेशसभा सदस्यले बताए ।

बाग्मती प्रदेश नेकपाका प्रमुख सचेतक रहेका फुँयाल पहिलो पटक मन्त्री बन्न लागेका हुन् । तर शक्ति केन्द्रको चलखेल भएपछि उनको सपना अधुरो भएको छ । हेटौंडा राजधानी र नाम बाग्मती राख्नका लागि मुख्यमन्त्री पौडेललाई सुरुवाटै सहयोग गरेका फुँयालले भौतिक मन्त्रालय पाउने चर्चा पहिलेबाटै हुँदै आएको थियो ।

स्रोतका अनुसार भौतिक मन्त्रालयमा हालका सामाजिक विकास मन्त्री युवराज दुलालको पनि इच्छा रहेको जनाइएको छ । दुलाललाई भौतिकमा र फुँयाललाई सामाजिक विकास मन्त्रालयमा लैजानु पर्ने भन्दै पार्टीको शिर्ष तहबाट मुख्यमन्त्री पौडेललाई फोन आएपछि सपथग्रहण रोकिएको स्रोतले दाबी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*