नवोदयको कफी हाउस चालु शैक्षिक सत्रका लागि सकियो
हेटौंडा । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयले विद्यार्थीको ज्ञान वृद्धिका लागि आयोजना गर्ने कफी हाउस कार्यक्रम चालु शैक्षिक सत्रका लागि सकिएको छ ।
विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुले कफी हाउस कार्यक्रममार्फत साहित्यका विभिन्न रचनाहरु तयार गरेर शिक्षक, अभिभावक, विद्यार्थी र अतिथिका बीच प्रस्तुत गर्ने गरेका छन् ।
कक्षा ९ का विद्यार्थीहरुले रचना वाचन गरेसँगै यस शैक्षिक सत्रका लागि कफी हाउस कार्यक्रम सम्पन्न भएको छ । कक्षा ९ मा अध्ययनरत करिव ८० जना विद्यार्थीहरुले नेपाली र अङ्ग्रेजी दुवै भाषामा साहित्यिक पुस्तक निर्माण गरी त्यसभित्रबाट आफूलाई मनपर्ने लेख रचना वाचन गरेका थिए ।
‘कफी हाउसले चारवटा भाषिक सीपको विकास हुने भएकाले विद्यालयले विगत तीन वर्षदेखि कार्यक्रम गर्दै आइरहेको छ ।
भाषिक सीपमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ पर्दछ ।’ नेपाली विषयका सुपरिवेक्षक तथा यस कार्यक्रमका संयोजक सिएम रिमालले भने – ‘कफी हाउस कार्यक्रमले भाषिक सीपको विकास हुनुको साथै आत्मबल, तार्किक क्षमता, व्यक्तित्व विकास, नेतृत्व विकास कल्पनाशक्तिमा अभिवृद्धि, साहित्यमा निखारता आउने कुरा रिमालले बताए ।’

त्यस्तै आफ्ना मनभित्र गुम्सिएका भावना, विचार तथा दर्शनहरुलाई कथा, कविता, निबन्ध, यात्रा संस्मरणजस्ता अन्य लेखमार्फत अजागर गर्न निकै नै सहयोग पुग्ने कुरा उपस्थित अभिभावकहरुको भनाइ रहेको थियो ।
उपस्थित अभिभावकले अहिलेको समयमा पढाइको साथसाथै रचनात्मक कार्यलाई पनि सँगसँगै लैजान सके विद्यार्थीमा रहेका प्रतिभाहरु मरेर नजाने कुरामा पनि जोड दिएका थिए । कार्यक्रममा मकवानपुर जिल्लाका विभिन्न साहित्यिक स्रष्टाहरुको कक्षागत रुपमा प्रमुख आतिथ्यता रहेको थियो ।

बाइलाइन नेपाल











