मुनाले पकाएको खाना खाने धोको पूरा भएन अर्जुनको
पूर्वसचिव अर्जुन कार्कीको ललितपुरको सानेपा हाइटमा ठूलो कम्पाउण्डसहितको आलिशान महल छ । अर्जुन दम्पत्तीसहित २ छोरी र १ छोरा उक्त घरका सदस्य हुन् । उनीहरूसँगै दाङका विजय चौधरी पनि बस्थे सहयोगीका रूपमा ।
अर्जुनका छोरी पढाइका लागि १ जना अस्ट्रेलिया र १ जना बेलायत छन् । १२ वर्षीय छोरा भने अर्जुन र श्रीमती मुना कार्कीसँगै त्यहीँ सानेपाको घरमा बस्दै आएका थिए ।
उनीहरूको दैनिकी सामान्य चल्दै थियो । अर्जुन सोमबार बिहान ८ बजेतिर पशुपतिनाथ दर्शनका लागि हिँडेका थिए । पशुपतिनाथसँग आफ्नाे र परिवारकाे खुशी, शान्त र दिर्घायुकाे कामना गरेर फर्किएका अर्जुनले पशुपतिनाथ दर्शन गरेर घरमा आइपुग्दा आफ्नै घरमा अकल्पनीय घटना व्यहोर्नुपर्यो ।
उनी घर पुग्दा करिब ११ बजेको थियो । उनलाई लागेको थियो– घरमा श्रीमतीले खाना पकाएर तयारी अवस्थामा आफूलाई कुरिरहेकी छन् ।
घरको ढोकामा पुग्दा ढोका बन्द थियो । अर्जुनले घरको बेल बजाए, कोही बोलेनन् । अर्जुन भावविह्वल हुँदै भन्दै थिए, ‘बेल बजाएर पनि नबोलेपछि बाहिरबाटै ‘मुना मुना’ भनेर बोलाएँ, बोलिनन् । अनि आफैँले बाहिरबाट हात हालेर चुकुल खोलेर घरभित्र छिरेँ ।’
उनी घरभित्र छिर्दा भर्याङमै १०–११ वर्षदेखि उनको घरमा काम गर्न बसेका विजय चौधरी झुण्डिएको अवस्थामा देखे । उनी छाँगाबाट खसेजस्तै भए ।
अर्जुन भन्छन्, ‘झुण्डिएको अवस्थामा शव देखिपछि फेरि श्रीमती मुनालाई मुना मुना भनेर बोलाएँ, बोलिनन् । बाथरुममा छ कि भनेर भर्याङबाट सिधै माथि बाथरुम जान खोजेको थिएँ, भान्सा कोठामा श्रीमती नै रगताम्य भएर लडेकाे देखेँ ।’
मुनाको हात र घाँटीसमेत डोरीले कसिएको अवस्थामा रहेको अर्जुन कार्की बताउँछन् ।
श्रीमती मुना नबोलेपछि उनैले प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गर्दा साढे ११ बजिसकेकाे थियाे । प्रहरीले मुनालाई सानेपास्थित स्टार अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको प्रहरीको भनाइ छ ।
चौधरीले नै हत्या गरेको अनुमान
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अर्जुन कार्कीकै घरमा काम गर्न राखेका विजय चौधरीले मुनाको हत्या गरेको अनुमान प्रहरीको छ ।
ललितपुर प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चौधरीले नै उनको हत्या गरेर पछि आफूले समेत आत्महत्या गरेको अनुमान गरिएको बताए ।
यद्यपि, सीसीटीभीबाट कुनै अर्को मान्छे कार्कीको घरभित्र पसेको, नपसेको बारे अनुसन्धान जारी रहेको उनको भनाइ छ । कार्कीको घरको चारैतिर सीसी क्यामेरा जडान गरिएको छ ।
एसएसपी राईले सीसी क्यामेराको अनुसन्धान बाँकी रहेको बताए पनि सीसीटीभी फुटेज हेरेका एक प्रहरी अधिकारीका अनुसार भने चौधरी करिब १० बजेर १० मिनेट जाँदा भान्सा कोठामा गएको र मुना पछाडि फर्किएका बेला डोरीले घाँटीमा कसेर भुइँमा लडाएको देखिएको बताए ।
सीसीटीभी हेरेका ती प्रहरी अधिकारीले भने, ‘मुना भुइँमा लडेपछि उनीमाथि चौधरीले प्लास्टिकको पिर्का प्रहार गर्नुका साथै कपाल समातेर भुइँमा बजारेको देखिएको छ ।’ शिलापत्र डटकमबाट साभार

बाइलाइन नेपाल











