झरनाको वार्षिकोत्सवमा ७ जनालाई सम्मान गरिने

बाइलाइन नेपाल
February 9th, 2020

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा बकैया साहित्य महोत्सव–२०७६ हुने भएको छ ।

झरना साहित्यिक परिवार मकवानपुरको २७ औँ वार्षिकोत्सवको अवसरमा आगामी फागुन १६ र १७ गते महोत्सव आयोजना गर्ने निर्णय भएको झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमले जानकारी दिए ।

महोत्सव अन्तर्गत छन्द कविता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम हुने बताइएको छ । छतिवनस्थित गौतमबुद्ध पर्यटन पार्कमा कार्यक्रम आयोजना गरिने तयारी रहेको जनाइएको छ । शनिबार हेटौंडामा बसेको झरनाको कार्य समिति बैठकले कार्यक्रमको विषयमा यस्तो निर्णय गरेको अध्यक्ष गौतमले बताए ।

वार्षिकोत्सव कार्यक्रमको अवसरमा झरनाले साहित्यकार तथा पत्रकार डा. नवराज लम्सालसहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने ७ जनालाई मकवानपुरमा सम्मान गरिने भएको छ ।

झरनाले साहित्यकार तथा पत्रकार लम्साललाई होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७६ बाट सम्मानगर्न लागेको छ । नगद १५ हवार ५ सय ५५ रुपैयाँ राशीको यो सम्मान झरनाका सल्लाहकार तथा छतिवनका स्थायीबासिन्दा नुरप्रसाद गौतमले स्थापना गरेका हुन् ।

त्यसैगरी शिव–साबित्री अधिकारी मुक्तक सम्मान–२०७६ मुक्तककार उषा शेरचनलाई प्रदान गरिने भएको छ । नगद ११ हजार १ सय ११ रुपैयाँको यस सम्मान झरनाका संस्थापक अध्यक्ष रमेश मोहन अधिकारीले स्थापना गरेका हुन् ।

बुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०७६ व्यङ्ग्यकार रामचन्द्र आचार्य फुर्सतीलाई प्रदान गरिने भएको छ । नगद ११ हजार १ सय ११ रुपैयाँ राशीको यस सम्मान विनोद सुवेदीले स्थापना गरेका हुन् ।

त्यसैगरी खडानन्द–मनमाया प्रतिभा सम्मान–२०७६ विनोद विक्रम केसीलाई प्रदान गरिने भएको छ । नगद ५ हजार ५ सय ५५ रुपैयाँको उक्त सम्मान मामाघरका परिकल्पनाकार तथा संरक्षक अर्पण पराजुली र दर्पण पराजुलीले गरेका हुन् ।

शुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७६ कवि विना थिङ तामाङलाई प्रदान गरिने भएको छ । नगद ५ हजार ५ सय ५५ रुपैयाँको उक्त सम्मान राजन दङ्गालले स्थापना गरेका हुन् ।

सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७६ साहित्यसेवी मुक्ति गोविन्द वैद्यलाई प्रदान गरिने भएको छ । नगद ५ हजार ५ सय ५५ रुपैयाँको उक्त सम्मानको संस्थापक तुल्सी गिरी हुन् । यसवर्ष पत्रकारतर्फको सम्मान वरिष्ठ पत्रकार प्रताप विष्टलाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष गौतमले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*