पहिलो पटक घरेलु मैदानमा एकदिवसीय सिरिज खेल्दै नेपाल

बाइलाइन नेपाल
२० माघ २०७६, सोमबार २०:५३

नेपालले २०१८ को मार्च १५ मा एकदिवसीय क्रिकेट टिमको मान्यता पाएको थियो। एकदिवसीय मान्यता पाएको ५ महिना पछि मात्र नेपालले एकदिवसीय खेल खेल्ने मौका पायो। नेपालले २०१८ अगस्ट १ मा नेदरल्यान्ड्विरुद्ध आम्स्टर्डममा पहिलो एकदिवसीय खेल खेलेको थियो।

पहिलो एकदिवसीय खेलमा ५५ रनले पराजित भएको नेपालले अहिलेसम्म ६ वटा मात्र एकदिवसीय खेल खेलेको छ। नेपालले ६ मध्ये ३ खेलमा जित हात पारेको छ।

नेपालले पछिल्लो पटक २०१९ जनवारी २८ मा युएईसँग एकदिवसीय खेल खेलेको थियो। सो खेलमा नेपालले ४ विकेटको जित निकाल्दै युएईविरुद्धको सिरिज २-१ ले जितेको थियो। त्यो नै नेपालले जितेको पहिलो र अन्तिम एकदिवसीय सिरिज हो।

नेपालले एक वर्षपछि एकदिवसीय सिरिज खेल्दैछ। आगामी बुधबारदेखि नेपालले आइसिसी विश्वकप लिग-२ प्रतियोगिताअन्तर्गत अमेरिका र ओमानविरुद्ध त्रिकोणात्मक सिरिज खेल्दैछ।

यो सिरिज नेपालका लागि ऐतिहासिक हुने पक्का छ। किनकी नेपालले यहि सिरिजमार्फत घरेलु मैदानमा पहिलो पटक एकदिवसीय खेल्दैछ भने विश्वकप लिग-२ मा डेब्यू गर्दैछ।

नेपालले सिरिजका लागि तीन साताको तयारी गर्‍यो। पहिलो पटक एकदिवसीय प्रतियोगिता आयोजना गर्नका लागि मैदानको मर्मत गर्नु पर्ने भएपछि नेपाली टिमले पोखरामा अभ्यास गरेको थियो। तर पोखरामा नेपालले सोचे जस्तो तयारी गर्न पाएन। सुरुमा प्रशिक्षक उमेश पटवाल समयमै उपलब्ध हुन सकेनन्। यस्तै मनमोहन मेमोरियल कप खेल्न गएकाले सबै खेलाडी अभ्यासमा समयमै उपस्थित हुन सकेनन्।

सिरिजका लागि अमेरिका र ओमान नेपाल आइसकेका छन्। लिग-२ को शीर्ष स्थानमा रहेको अमेरिका मुम्बईमा अभ्यास गरेर आइतबार नेपाल आएको हो। ओमान सोमबार नेपाल आइपुगेको छ। दुवै टिमले नेपालमा उत्कृष्ट खेल्ने प्रतिक्रिया दिइसकेका छन्।

अमेरिकाले लिग-२ मा ८ खेलबाट १२ अंक जोडेको छ। ६ खेलमा जित हात पारेको अमेरिका २ खेलमा पराजित भएको थियो। ओमान भने ८ अंकसहित चौथो स्थानमा छ। उसले ६ मध्ये ४ खेलमा जित हात पारेको छ।

लिग-२ मा डेब्यू गर्न लागेको नेपालका लागि घरेलु मैदानमा हुने सिरिज महत्वपूर्ण छ। दर्शक र मैदानको फाइदा उठाउन सकेमा नेपालका लागि आगामी सिरिजमा साकारात्मक प्रभाव पर्ने पक्का छ।

नेपालले आफ्नो पहिलो खेलमा बुधबार ओमानसँग खेलेर घरेलु मैदानमा पहिलो एकदिवसीय खेल खेल्दैछ। सिरिजमा नेपाल, अमेरिका र ओमानले एकआपसमा २-२ एकदिवसीय खेल खेल्नेछन्। जसमा जम्मा ६ वटा एकदिवसीय खेल हुनेछ।

नेपाली टिम
‍ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, मोहमद आरिफ शेख, विनोद भण्डारी, अभिनास बोहरा,कुशल मल्ल, कमलसिंह ऐरी, सुसन भारी, रोहितकुमार पौडेल, शरद भेषवाकर, ललितनारायण राजवंशी
व्यवस्थापक- ऋषिराम गौतम
मुख्य प्रशिक्षक – उमेश पटवाल
प्रशिक्षक – जगत टमाटा
सहायक प्रशिक्षक – बसन्त शाही
फिजियो – विक्रम न्यौपाने
विश्लेषक – रमन शिवाकोटी
वैकल्पिक खेलाडीहरु
पवन सर्राफ, सुवास खकुरेल, सन्दीप जोरा, किशोर महतो

सिरिजको खेल तालिका (त्रिवि मैदान कीर्तिपुर)
माघ २२ – नेपाल भर्सेस ओमान
माघ २३ – ओमान भर्सेस अमेरिका
माघ २५ – नेपाल भर्सेस अमेरिका
माघ २६- नेपाल भर्सेस ओमान
माघ २८ – ओमान भर्सेस अमेरिका
माघ २९- नेपाल भर्सेस अमेरिका

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*