पेट्रोलिय पदार्थको मूल्य घट्यो, ग्यासको मूल्य वृद्धि

बाइलाइन नेपाल
२० माघ २०७६, सोमबार २०:२१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । यताअन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार ३७५ पुगेको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ ।

निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार प्रत्येक १५–१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । भारतीय आयल निगमले प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ ।

मूल्य समायोजन पश्चात भारतमा भन्दा नेपालमा इन्धन मूल्य सस्तो छ । वीरगन्ज नाकामा इन्धनको मूल्य भारतको रक्सौलमा कायम पेट्रोलको बिक्री मूल्यभन्दा प्रतिलिटर १६ रुपैयाँ ४० पैसा र डिजलको मूल्य प्रतिलिटर १६ रुपैयाँ २७ पैसा सस्तो रहेको निगमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*