अब नेकपाले नेतालाई तलब दिने
हेटौंडा । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजकीय लाभको पदमा नभएका पार्टीका सदस्यहरूलाई आर्थिक उपलब्ध गराउने भएको छ ।
५ दिनसम्म चलेको केन्द्रीय कमिटीे बैठकको समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले राजकीय लाभको पदमा नभएका सदस्यलाई आर्थिक सहायता दिने घोषणा गरे ।
पार्टीका केन्द्रीय तहका धेरै नेताहरूले नेतृत्वको आयस्रोत र जीवनशैलीमाथि प्रश्न उठाएपछि लाभको पदमा नभएका सदस्यलाई आर्थिक सहायता दिने घोषणा गरेको हो । तर कुन पदमा रहेकालाई कुन अधारमा कति आर्थिक सहायतम दिने भन्ने खुलाइएको छैन ।
नेकपाले शिक्षा र स्वास्थ्य क्षेत्रमा नेताका लगानीलाई भने झन् खुकुलो बनाइदिएको छ । बैठकमा सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले शिक्षा र स्वास्थ्य क्षेत्रमा पार्टी नेतृत्व संलग्न हुन नहुने नेता–कार्यकर्ताको माग लाई भने अस्वीकार गरेका छन् ।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीक्षेत्रलाई केही समय साथसाथै लैजान जरूरी रहेको भन्दै नेताका लागि यी क्षेत्रमा लगानी र सहकार्यको ढोका तत्कालका लागि बन्द नभएको बताए ।
केन्द्रीय नेताहरूमाथि नै स्वास्थ्य र शिक्षामा व्यापार गरेको आरोप लाग्दै आएको छ । पार्टीका केन्द्रीय सदस्य राम कार्कीलगायतका नेताले शिक्षा र स्वास्थ्य राज्यले नै संचालन गर्नुपर्ने भन्दै निरन्तर आवाज उठाउँदै आएका थिए ।
तर पार्टीको बैठकबाट भने कही समय शिक्षा र स्वास्थ्यमा निजीक्षेत्रको लगानीलाई सँगसँगै लैजाने निर्णय भएको छ ।
नेकपाले अब पार्टीमा एक व्यक्ति एक पदको नीति लिने भएको छ । पार्टीभित्र लामो समयदेखि एक व्यक्ति एक पदको कुरा उठिरहेको थियो । केन्द्रीय कमिटीको बैठकबाट भने एक व्यक्ति एक पद लागू निर्णय भएको छ ।
पार्टी एकता भएको २१ महिनासम्म पनि अलगअलग लेवी तिर्दै आएका नेकपाका सांसदहरूले अब एकै किसमको लेवी तिर्ने भएका छन् । बैठकले लेवीलाई एकीकृत बनाउने निर्णय लिएको हो ।
नेकपाले पार्टी एकताका बाँकी काम १५ दिनमा टुंग्याउने निर्णय गरेको छ । एकता प्रक्रिया लम्बिएको भन्दै नेताहरूले बैठकमा चर्को असन्तुष्टि जनाएका थिए ।

बाइलाइन नेपाल











