फुटबल फ्यानहरुमा ह्दायघातको उच्च जोखिम !
बीबीसी । समर्पित फुटबल फ्यानहरुले आफूलाई मन पर्ने टिमको खेल हेर्दा खतरनाक स्तरको शारीरिक तनावबाट आफूलाई ह्दायघातको उच्च जोखिममा राखिरहेको नयाँ अनुसन्धानले देखाएको छ ।
यसमा अक्सफोर्ड युनिभर्सिटीको टोलीले २०१४ को विश्वकपमा जर्मनीसँग ऐतिहासिक हार बेहोर्नुपरेका बेला ब्राजिलका फ्यानहरुको र्याल परीक्षण गरेको थियो ।
यसबीच अभनुसन्धानकर्ताहरुले सेमि–फाइनलको म्याचमा स्कोर ७ –१ पुग्दासम्म उनीहरुमा ‘कोर्टिसोल’ नामक हानिकारक हर्मोन अति उच्च मात्रामा फेला पारेका हुन् ।
सो अवस्था कुनै पनि व्यक्तिका लागि प्राणघातक हुन सक्ने उनीहरुले बताए जसले अचानक रक्तचाप बढाइ, मुटुमा तनाव उत्पन्न गराउँछ ।
कोर्टिसोलको स्तर लामो समयसम्म उच्च रहेमा रक्तनलीहरु संकुचित हुँदै जान्छन्, रक्तचाप बढ्न पुग्छ र कसैको मुटु पहिले नै कमजोर छ भने ठूलो क्षति पुग्न सक्छ ।
यसरी कोर्टिसोल उच्च हुनुले मान्छेलाई आफ्नै ज्यान जोखिममा भएजस्तो अनुभूति पनि गराउने गर्दछ ।
यसअघिका थुप्रै रिसर्चहरुमा पनि कुनै ठूलो क्लब होस् या देश होस्, तर महत्वपूर्ण खेलको समयमा फ्यानहरुमा ह्दयघातका घटना अधिक वृद्धि हुने गरेको पत्ता लागेको थियो ।
यसरी फुटबलप्रति महिला भन्दा पुरुषहरुको बढी लगाव हुन्छ भन्ने मान्यता रहँदै आएपनि अनुसन्धानकर्ताहरुले खेलको समयमा पुरुष र महिलाबीच तनावको स्तरमा कुनै भिन्नता नरहेको बताए ।
विशेषगरी आफ्नो टिमसँग बलियो रुपमा भावनात्मक सम्बन्ध भएका वा आफूलाई खेलाडीको ठाउँमा राख्ने अत्यन्तै समर्पित फ्यानहरुमा कुनैपनि म्याच हेर्दा सबैभन्दा बढी मानसिक तनावको प्रतिक्रिया देखा पर्ने गरेको डाक्टर मार्था न्युसन बताउँछिन् ।
उनी अक्सफोर्डमा ‘सेन्टर फर द स्टडी अफ सोसल कोहेजन’ की प्रमुख अनुसन्धानकर्ता हुन् ।
उनका अनुसार सामान्य समर्थकहरुमा पनि केही तनाव हुन्छ तर उनीहरु जति खतरनाक अवस्थामा हुँदैन ।
यस अध्ययनमा भने युनिभर्सिटी अफ अक्सफोर्डले विश्वकपका तीनवटा म्याचमा, खेल सुरु हुनु अगाडि, खेलका क्रममा र खेल सकिएपछि गरि तीनपटकसम्म फ्यानहरुको र्याल संकलित गरि त्यस मार्फत कोर्टिसोलको स्तर परीक्षण गरेको थियो । यसमा सबैभन्दा तनावपूर्ण अवस्था सेमि–फाइनल खेलमा रहेको पाइएको हो ।
डाक्टर न्युसनले बीबीसीसँग भनेकी छन्, “त्यो म्याच वास्तवमै धेरै भावनात्मक थियो जसमा फ्यानहरु रुँदै स्टेडियमबाट बाहिरिएका थिए ।”
तर फ्यानहरुले पनि यस किसिमका दुःखको सामना गर्न अंकमाल गर्ने, हाँसो ठट्टा गर्ने गरेका छन् जसले तनावलाई खेल सुरु हुनु भन्दा अगाडिको स्तरमा पुर्याउन सक्ने बताइएको छ ।
यस्तोमा सबै स्टेडियमहरुले खेल सकिएपछि बत्तीहरु मधुरो गरि शान्तपूर्ण संगीत बजाउनुपर्ने न्युसनको सुझाव छ ।

बाइलाइन नेपाल











