हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी अजिताको हत्यारा पक्राउ गर्न नीलहीराको माग

बाइलाइन नेपाल
१३ माघ २०७६, सोमबार २०:५१

नीलहीरा समाजले तेस्रोलिंगी हेटौंडा–११ नवलपुर निवासी अजिता भुजेलको हत्यारालाई तत्काल पक्राउ गर्न माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा समाज र वुमन एक्टले संयुक्त रूपमा आज पत्रकार सम्मेलन गर्दै दोषीलाई कानुनी कारबाही नगरे आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

समाजकी अध्यक्ष पिङ्की गुरुङले भुजेलको हत्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने दृढता व्यक्त गरिन् । उनले सबैलाई सहयोगको आग्रहसमेत गरिन् । ‘अजिता भुजेको हत्याका अभियुक्त फरार छन्,’ उनले भनिन्, ‘दोषी जहाँसुकै भए पनि पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सहयोगका लागि आग्रह गर्दछु ।’ भुजेलको शव हेर्दा बलात्कारपछि हत्या गरिएको देखिन्छ भन्दै दोषी कुनै हालतमा उम्कन नपाउन् भनिन् । पीडितको कोठाबाट सुनका गहनासमेत हराएकाले लुटपाट पनि भएको हुनसक्ने उनले आशंका व्यक्त गरिन् ।

गत शनिबार बिहान २९ वर्षीया तेस्रोलिंगी अजिताको हैटौंडास्थित क्याम्पेडाँडामा हत्या गरी फ्याँकेको अवस्थामा प्रहरीले शव बरामद गरेको थियो । भुजेलले सम्पत्ति र रकम लेनदेनको विषयबारे अध्यक्ष गुरुङसँग घटनाको अघिल्लो रात कुराकानी गरेको समेत खुलाइन् । उनले भनिन्, ‘एकजना व्यक्तिले १० लाख मागेको छ उसको जग्गाको कागज दिन्छ रे भनी सोध्दा मैले नदिनू भर हुन्न भन्ने सुझाव दिएकी थिएँ ।’

पोस्टमार्टमको रिपोर्टअनुसार उनको टाउकोमा गहिरो चोट लागेको र घाँटीमा फाँसी दिएको जस्तो घाउ भएको उनले सुनाइन् ।

वुमन एक्टकी अध्यक्ष सिर्जना अधिकारीले दोषीमाथि कडा कारबाहीको माग गरिन् । तेस्रो लिंगी भएकै आधारमा अजिताले निकै समस्या भोग्नुपरेको र ज्यानसमेत दिइएको भन्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्नुपर्ने बताइन् । उनले भनिन्, ‘दोषी उम्कन नपाओस् ।’ दोषी कारबाहीका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*