महिनावारी नहुने औषधि खुवाएर निरन्तर बलात्कार

बाइलाइन नेपाल
११ माघ २०७६, शनिबार १३:२९
फाइल तस्वीर

धनुषाकी सरिता भुजेल (नाम परिवर्तन) ३ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा एजेन्टमार्फत् ओमान पुगिन् । एजेन्टले उनलाई ओमानको एक विद्यालयमा कुकको रोजगारीमा भनेर पठाएको थियो ।

‘नेपालदेखि विद्यालयमा सरसफाई गर्ने काम भनेर एजेन्टले ओमान पठाएको थियो । ओमानमा पुगेपछि घरेलु काम गर्नुपर्‍यो । बाध्यताले त्यही काम गरेँ’, सरिता भन्छिन्, ‘म काम गर्ने घरको साहु डाक्टर थियो । त्यो परिवारभन्दा बाहिर एब्लै बस्दोरहेछ । मैले उसको खानादेखि बेडसम्म सफा गर्नुपर्थ्यो ।’

डाक्टरले सरितालाई एउटा जब सेन्टरमा आएर छान्यो । त्यसपछि पैसाको मोलमोलाइ गरेर आफ्नो घरमा काम गर्न लग्यो । ‘सुरुमा त के भन्यो, भाषा बुझिनँ विस्तारै भाषा बुझ्न थालेँ’, सरिता भन्छिन्, ‘त्यसपछि थाहा भयो, मलाई डाक्टरले किनेर ल्याएको रहेछ ।’

नेपालबाट स्कुल, सुपरमार्र्केट, कम्पनी र अन्य क्षेत्रको रोजगारी भनेर एजेन्टले नेपाली महिला श्रमिक घरेलु कामका लागि लगिरहेको सरिताले बताइन् । घरेलु काममा गएका नेपाली महिला श्रमिकले मानसिक, आर्थिक र शारीरिक पीडा खप्नुपर्ने सरिताको अनुभव छ ।

‘मलाई ओमानमा डाक्टरले करिब १८ महिना महिनावारी नहुने औषधि खुवाएर शारीरिक शोषण गर्‍यो । सुरुमा त गर्भ बसेछ भनेर डराएँ । यो समस्या डाक्टरलाई सुनाएँ’, सरिता भन्छिन्, ‘उसलाई केही भनेन् । पछि थाहा हुँदै गयो मलाई त महिनावारी नहुने औषधि खुवाएर रखेल बनाएर राखेको रहेछ ।’

सरिताले एकछिन् रोकिएर फेरि सुनाइन्, ‘मलाई एजेन्टले फसायो । अब त्यो एजेन्टलाई कसले कारबाही गर्छ ? म जस्ता कति नेपाली दिदीबहिनी झुक्याएर बेचिरहेको छ । त्यस्ता अपराधीलाई कानुनी कारबाही हुनुपर्छ नत्र म जस्ता धेरै दिदीबहिनी रोजगारीका नाममा बेच्छ ।’

सरिता अहिले महिनावारी नहुने समस्याका कारण नेपालमा फर्किएर उपचार गराइरहेकी छन् । विदेशमा भोगेको पीडाले अहिले समस्या देखिएपछि उपचार गराइरहेको उनले बताइन् । रोजगारीका प्रलोभनमा परेर एजेन्टले धेरै महिलालाई झुक्याएर खाडीका देश र मलेसिया लैजाने गरेका छन् । यसरी रोजगारीका नाममा महिलालाई झुक्याउन एजेन्ट र सरकारी कर्मचारीबीच मिलोमतो हुने गरेको सरिताले बताइन् । ‘देशभित्र रोजगारी नपाएपछि अस्तित्व नै बेचेर अरूको देशमा काम गर्न जानुपर्छ ।

विदेशी नागरिकले पैसा तिरेर ल्याएको हो । जे गरे नि हुन्छ भनेर मनपरी गर्छन् । चुपचाप साहुले गर्ने व्यवहार सहेर बस्नुपर्छ । हारगुहार गर्ने कोही हुँदैन’, उनले आफ्नो गुनासो यसरी पोखिन्, ‘ओमानमा महिलाले पुरुषसँग दोहोरो बोल्न सक्ने अवस्था हुँदैन । पुरुषले जे भन्यो, त्यो सहजै स्वीकार गर्नुपर्छ । उनीहरुरूले चाहेका बेला जे पनि गर्छन् ।’

उनीहरूका कुरा इन्कार गरेमा उनीहरूले चरम यातना दिने गरेको उनले सुनाउँदा उनको मुहारको चमक छायामा परेका थियो । ‘मैले ३ वर्षमा जे देखेँ र भोगेँ, त्यो सम्झियो भने मुटु काँपेर आउँछ । साहुले गरेको त्यो व्यवहार सम्झँदा शत्रु पनि विदेश नजाओस् भन्ने लाग्छ’, विदेशमा महिला पुरुषको यौन तृप्तिको साधन जस्तै हुने गरेको सरिताको भनाइ छ ।

सरितालाई राजविराजका रवीन्द्र साहले जब सेन्टर म्यानपावर कम्पनीमार्फत् व्यक्तिगत भिसामा ओमान पठाएका थिए ।

सरिता एक प्रतिनिधि पात्र मात्र हुन्, उनी जस्ता धेरै महिला वैदेशिक रोजगारीका नाममा फस्ने गरेका छन् । म्यानपावर र एजेन्टले सरकारले प्रतिबन्ध लगाएका देशमा घरेलु महिला श्रमिकलाई रोजगारीमा पठाउँदै आएका छन् । यस्ता विषयमा सरकारले गम्भीर भएर काम नगर्दा सर्वसाधारण महिला समस्यामा परिरहेका छन् ।

एजेन्टले झुक्याएर पठाउँछन् मलेसिया र खाडीका देश

नेपालबाट म्यानपावर कम्पनी र एजेन्टले मिलोमतोमा खाडीका देशसँगै मलेसिया नेपाली महिला श्रमिक घरेलु कामका लागि पुर्‍याउने गरेका पाइन्छ । यसरी लगिएका महिलालाई अन्य कामको भिसामा लगेर घरेलु काम लगाउने गरेका छन् । एजेन्ट र म्यानपावर कम्पनीले ग्रामीण भेगका सोझासाझा महिला खोजेर ल्याउने र उनीहरूलाई एउटा काम भनेर झुक्याएर अर्कै घरेलु काममा पठाउने गरेको पीडित बताउँछन् ।

पछिल्लो समय वैदेशिक रोजगारीका नाममा नेपाली महिला तस्करी हुने क्रम बढ्दो छ । भारत हुँदै खाडीका देश रोजगारीका नाममा महिला तस्करी गर्ने गिरोह सक्रिय भएर काम गरिरहेका छन् ।

सरकारले यसरी रोजगारीका नाममा महिला तस्करी गर्ने गिरोहलाई कानुनी दायरामा ल्याउन नसक्दा समस्या जटिल बन्दै गइरहेको सरोकारवालाको भनाइ छ ।

नेपालबाट वैदेशिक रोजगारीमा वार्षिक करिब ६ लाख नेपाली श्रमिक जाने गरेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । यसमा कतिपय श्रमिकलाई म्यानपावर कम्पनीले झुक्याएर पठाउने गरेका छन् ।

वार्षिक भारत हुँदै करिब ३० हजार महिला खाडीका देश र मलेसिया घरेलु काममा तस्करी भइरहेको अपराध अनुसन्धान महाशाखाको एक अध्ययनमा उल्लेख छ । विगत ३ वर्षयता म्यानपावर र एजेन्टले अरू नै कामको व्यक्तिगत भिसामा खाडीका देश र मलेसिया घरेलु काममा महिला श्रमिक पठाइरहेको समस्या लिएर पीडित वैदेशिक रोजगार विभाग धाउने गरेका छन् ।

यसो भन्छ वैदेशिक रोजगार विभाग

मासिक १० जनाभन्दा धेरै महिला एजेन्टले अन्य भिसामा भनेर घरेलु काममा पठाएको उजुरी आउने गरेको विभागले जनाएको छ । वैदेशिक रोजगारीमा जान्न चाहने श्रमिक समस्यामा परेपछि मात्र विभागमा आउने गरेको विभागका सूचना अधिकारी भोला गुरागाईंले जानकारी दिए ।

विदेश जानुअघि कस्तो काम हो भनेर नबुझी म्यानपावर र एजेन्टको प्रलोभनमा परेर जाँदा महिला श्रमिक फसिरहेको गुरागाईंले बताए ।

‘विभागले वैदेशिक रोजगार ऐनअनुसार एउटा काम भनेर अर्को काममा पठाउने म्यानपावर र एजेन्टलाई कारबाही गर्दै आएको छ । तर, व्यक्तिगत भिसामा जाने श्रमिकसँग प्रमाण नहुँदा कानुनी दायरामा ल्याएर दोषीलाई कारवाही गर्ने समस्या भइरहेको छ ।’

उनले एजेन्ट र म्यानपावरको लहैलहैमा लागेर जाँदा धेरै श्रमिक फस्ने गरेका बताए । एजेन्टको भरमा जाने श्रमिकसँग प्रमाण नहुँदा कानुनी कारबाही गर्न समस्या भइरहेको उनको भनाइ छ । ‘प्रमाणसहित आएका उजुरीमा विभागले भने क्षतिपूर्ति भराउँदै आएको हो’, उनले भने ।–शिलापत्र डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*