अंग्रेज फौजलाई पराजित गरेको सम्झनामा मकवानपुरगढी किल्लामा मनाइयो विजयोत्सव

बाइलाइन नेपाल
१० माघ २०७६, शुक्रबार १४:५५

हेटौंडा । मुगल बादशाह मिरकासिमको नेतृत्वमा रहेको अंग्रेज फौजलाई पराजित गरेको सम्झनामा शुक्रबार मकवानपुर जिल्लाको ऐतिहासिक किल्ला मकवानपुरगढी दरबारमा विजयोत्सव मनाइएको छ ।

मकवानपुरगढी गाउँपालिकाको आयोजनामा भएको विजयोत्सव कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको नेपालको राष्ट्रिय झण्डोत्तोलन तथा सेतो हात्तीको प्रतिमा अनावरण गरेका थिए ।

विसं. १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई पराजित गरिएको सम्झनामा मकवानपुरगढी किल्लामा केही वर्षदेखि विजयोत्सव मनाउँने गरिएको छ । सरकारले घोषणा गरेको १०० नयाँ पर्यटकीय स्थलमा समावेश भएको मकवानपुरगढी दरबार देशकै देशकै सबैभन्दा ठूलो र पुरानो गढी भएको मानिन्छ ।

तीन हजार अंग्रेजको फौजलाई मकवानपुरगढीबाट केही तल शिखरकटेरीबाट अघि बढ्न नदिएर तत्कालीन गोर्खाली फौजले पराजित गरेको थियो। उक्त स्थानमा तत्कालीन मकवानपरे राजा मुकुन्द सेनकी रानीले रानी चौतारा बनाउन लगाएकी थिइन्। उक्त चौतरा अझै पनि रहेको छ। उक्त स्थानमा अझै पनि पुराना बन्दुकका नाल, गोलाहरू भेटिने गरेको स्थानीय बताउँछन।

चारैतिर अग्लो पर्खालले घेरिएको मकुन्दसेनको दरबार छ । त्यही दरबार पृथ्वीनारायण शाहको ससुराली पनि हो। हाल सो दरबारको भग्नावशेष देख्न सकिन्छ। मकवानपुरगढी किल्ला करिब १३५ रोपनी क्षेत्रमा फैलिएको छ। मकवानपुरगढी दरबार १६१० सालमा सेन वंशीय राजाको शासनकालमा निर्माण भएको बताइन्छ।

बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट करिब १६ किलोमिटर उत्तरपूर्वमा रहेको मकवानपुरगढीमा गतवर्ष को विजयोत्सव कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी आएकी थिइन् । उनले नेपालको राष्ट्रिय झण्डोत्तोलन तथा गढीमा निर्माण गरिएको संघीय नेपालको नक्सा अनावरण गरेकी थइन् । पछिल्ला वर्ष यसको संरक्षण र विकासका लागि संघीय सरकार, प्रदेश सरकार र मकवानपुरगढी गाउँपालिकाले बजेट छुट्याएर काम गरिरहेका छन् ।

गौरवपूर्ण र ऐतिहासिक दिनः मुख्यमन्त्री

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गोर्खाली सेनाको वीरतालाई विश्वसामु सुपरिचित गराउने काम गोर्खा–मुगल युद्धले गराएको बताएका छन् । । मकवानपुरगढीको २५७ औँ विजयोत्सवको अवसरमा बोल्दै उनले गोर्खालीको अदम्य साहसका कारण आज विश्वमा नेपालीको शिर उच्च रहेको मुख्यमन्त्री पौडेलले उल्लेख गरे ।

गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक दिन गौरवपूर्ण र ऐतिहासिक दिन भएको उनले बताए । अंग्रेजलाई पराजित गरेर गोर्खाली सेनाले नेपाललाई सार्वभौम र स्वतन्त्र कायम ठूलो योगदान दिएको पौडेलले बताएका छन् ।

“आजभन्दा २५७ वर्ष अगाडि भएको युद्धमा नेपालीले पराजय व्यहोर्नु परेको हुन्थ्यो भने आज नेपाल स्वतन्त्र देश हुँदैन थियो । त्यसैले आजको दिन नेपाली इतिहासमा महत्वपूर्ण छ । नेपालको पक्षमा लड्दा लड्दै ज्यान गुमाएका ३० जना तथा युद्धमा देशका लागि लडेर बहादुरी प्रदर्शन गरेका सम्पूर्ण वीर योद्धाहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु,‘– मुख्यमन्त्री पौडेलले भने ।

गढीगाउँपालिका अध्यक्ष विदुर हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री डोरमणि पौडेल रहेका थिए । कार्यक्रममा संघीय ससदका सांसद कृष्णप्रसाद दाहाल, प्रदेश सांसद मुनु सिग्देल, प्रेमबहादुर पुलामी, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, संविधानसभाका सदस्य अन्नत पौडेललगायतको सहभागिता रहेको थियो ।

यस्तो छ गढीको बारेमा इतिहास

वीर गोर्खालीले मुगल सेनालाई पराजित मात्र गरेन् ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोपसमेत नियन्त्रणमा लिएका थिए। इतिहासकारका अनुसार गोर्खाली सेनाले एकैदिन मुगलको १७ सय सेनालाई पराजित गरिदिएको थियो।

गोर्खाली सेनाले ऐतिहासिक विजय प्राप्त गरेको २५७ वर्ष पुगेको छ। गोर्खाली सेनाले विदेशी सेनासित लडेको पहिलो युद्धका रुपमा लिइन्छ। मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले विजयोत्सव कार्यक्रम भव्य रुपमा मनाउन लागिएको जानकारी दिए।

पहिलो विजयोत्सव मनाउन तत्कालीन राजा पृथ्वीनारायण शाह स्वयम् गढीमा उपस्थित भएका थिए। सोही समयदेखि विजयोत्सव मनाउन थालिएको भए पनि व्यवस्थित र भव्य कार्यक्रम गरेर मनाउन थालेको केहि वर्ष मात्रै भएको गढी संरक्षण र व्यवस्थापनमा सक्रिय बद्री खतिवडाले जानकारी दिए।

गढी र तिनको ऐतिहासिकताको अध्ययन गर्नुभएका केदार न्यौपानेका अनुसार देशभरीका २०० गढीमध्ये मकवानपुर गढीको इतिहास लामो र महत्पूर्ण छ।

पाल्पाका राजा मणिमुकुन्द सेनले नै आफूलाई मकवानी राजाको सन्तान भएको दाबी गरेकाले मकवानपुर पुरानो राज्य भएको र पछि राजधानीलाई पाल्पामा सारेको हुनसक्ने उनले बताए।

तत्कालीन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले सेनवंशको चिनारी नामक पुस्तकमा पाल्पाका सेनहरु मकवानपुरकै भएको उल्लेख गरेका छन्। मुकुन्द सेनले राज्य बाँडफाँड गर्दा मकवानपुर कान्छा छोरा लोहाङ सेनको भागमा प¥यो।

लोहाङले विसं १६१० पछि गढीको पुनःनिर्माण गरी मकवानपुर राज्यको पुनःनिर्माण र विस्तार गरेका चर्चा छ।

प्राध्यापक दिनेशराज पन्तले मकवानपुर गढीको बारेमा लेखेका एक लेखका अनुसार विसं १७९४ मा गोरखाका युवराज पृथ्वीनारायण शाहको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसंँग भएको थियो।

हेमकर्ण सेनका छोरा दिग्बन्धन सेनसँग पृथ्वीनारायणको सम्बन्ध राम्रो थिएन। हेमकर्ण सेनले कन्यादानको समयमा छोरीलाई गजमोतीको हार लगाइदिएका थिए र दुलाहा दुलहीलाई एकदन्ता हात्तीमा चढाएका थिए।

पृथ्वीनारायणले ती हार र हात्ती माग गर्दा दिग्बन्धन सेनसँग झगडा प¥यो र पृथ्वीनारायण बेहुली नै नलिइ फर्केका लेखमा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*