निकुञ्जका कारण दुई वर्षदेखि मयुरधाप औद्योगिक क्षेत्रको काम ठप्प

बाइलाइन नेपाल
९ माघ २०७६, बिहीबार १६:२१

हेटौंडा । पर्सा राष्ट्रिय निकुञ्जको कारण हेटौंडा उपमहानगरपालिका–१३ मयुरधापमा निर्माण थालिएको नयाँ औद्योगिक क्षेत्र मयुरधाप औद्योगिक क्षेत्र दुई वर्षदेखि अलपत्र परेको छ ।

औद्योगिक क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन निर्माणका क्रममा वन तथा वातारण मन्त्रालयको स्वीकृत लिनुपर्ने भएपछि काम अगाडि बढ्न नसकेको हो । मन्त्रालयले औद्योगिक क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने भन्दै आपत्ती जनाएको छ । जसले गर्दा दुई वर्षदेखि कुनैपनि काम हुन सकेको छैन ।

वन मन्त्रालयले आईईई प्रतिवेदन स्वीकृत नगर्दा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पूरा गरी भौतिक पूर्वाधार निर्माणमा असर परेको मयुरधाप औद्योगिक क्षेत्रको परियोजना प्रमुखसमेत रहेका हेटौंडा औद्योगिक क्षेत्रका प्रमुख राजेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

“औद्योगिक क्षेत्रको लालपूर्जा प्राप्त गरी हामीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि स्वीकृत गरी तारबार र प्लटसमेत छुट्याउने काम गरिसकेका छौं । गत वर्ष आईईई प्रतिवेदन पनि तयार गरी वन मन्त्रालयमा स्वीकृति माग्दा मन्त्रालयले स्वीकृत दिन आनाकानी गरिरहेको छ । त्यसयता कुनै काम नै अघि बढ्न सकेको छैन,” कँडेलले भने ।

औद्योगिक क्षेत्र स्थापनाको लागि सरकारले दुई वर्षदेखि बजेटसमेत विनियोजन गरिरहेको छ । तर, काम हुन नसक्दा बजेटसमेत फ्रिज हुने गरेको उनले बताए । प्रत्येक आवमा सरकारले बजेट विनियोजन गरेपनि काम नहुँदा उपयोग गर्न नसकिएको कँडेलले जानकारी दिए ।

निकुञ्जले आफ्नो क्षेत्रमा परेको उक्त स्थान वन्यजन्तुको आवतजावत गर्ने, पानीका लागि जाने क्षेत्र भएकाले औद्योगिक क्षेत्र निर्माण गर्दा वन्यजन्तुलाई असर पर्ने दाबी गर्दै आएको छ । जसका कारण औधोगिक क्षेत्रको निर्माण नै रोकिन पुगेको छ । अहिलेसम्म पनि वन मन्त्रालयले स्वीकृती दिएको छैन ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मयुरधाप औद्योगिक क्षेत्रको परियोजना कार्यालयसमेत स्थापना गरी ७ जनाको दरबन्दी तोकेर कर्मचारीसमेत खटाइसकेको छ ।

औद्योगिक क्षेत्र निर्माणमा बाधा पुगेपछि हेटौंडा उपमहानगरपालिकाले औद्योगिक क्षेत्र बन्न लागेको जग्गासहित विभिन्न वडालाई मध्यवर्ती क्षेत्रभन्दा बाहिर राख्ने निर्णय गरी मन्त्रालयमा सिफारिस गरिसकेको छ । तर, सिफारिस माथि मन्त्रालयले हालसम्म कुनै निर्णय गरेको छैन ।

खहरे उकासको करिब २ सय बिघा जमिनमा स्थापना हुन लागेको औद्योगिक क्षेत्रमा ६५ वटा उद्योग स्थापना गर्ने तयारी छ । पूर्वमा मयुरधापको बस्ती, पश्चिममा कालापानी, उत्तरमा हेटौंडा १६ नम्वर वडा र दक्षिणमा उत्तरपानी पर्ने उक्त चार किल्ला भित्र रहेको चुरे खहरेको उकास जमिनमा औद्योगक क्षेत्र स्थापना गर्न ४ वर्षअघि नै मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।

२०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधापमा नयाँ औद्योगिक क्षेत्र बनाउने गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्कै निर्णयले २०७३ साउन ६ गते औद्योगिक क्षेत्र स्थापना गर्ने जग्गाको लालपूर्जा मयुरधाप औद्योगिक क्षेत्रको नाममा नामसारी गरिएको थियो ।

औद्योगिक क्षेत्र तयार गर्नका लागि करिब साढे सात अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । डीपीआर तयारीपछि २० बिगाहा जमिन मुद्रण विभागले नोट छाप्ने उद्योग स्थापनाको लागि सम्झौता गरिसकेको छ । बाँकीजमिनलाई चारदेखि १४ रोपनीसम्मका गरी ६३ वटा प्लटमा विभाजित गरिएको छ ।
औद्योगिक क्षेत्र स्थापनाको काम सुरु भएसँगै उद्योगीहरू जग्गाको लागि निवेदनसमेत लिएर आउन थालेका छन् । तर निकुञ्जका कारण काम नहुँदा अन्यौलता छाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*