जिसस मकवानपुरको बोर्ड बैठकको यस्तो छ निर्णय
हेटौंडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ६० औं बोर्ड बैठक आईतबार भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले यही माघ १० देखि १६ गते सम्म प्रदेश स्तरमा मनाईने सहिद दिवशलाई भव्य र प्रभावकारी रुपमा मनाउन आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । सहिद दिवसलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिलाई जन परिचालनको जिम्मा प्राप्त भएको प्रमुख खुलालले बताए । त्यस्तै बैठकले थाहा नगरपालिका स्थित जन कल्याण माविको निर्माण कम्पनीलाई पेश्की रकम उपलब्ध गराउन थाहा नगरपालिकालाई पत्राचार गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
त्यस्तै बैठकले जिसससंग रहेको मौजदात कोषबाट हेटौंडा उपमहानगरपालिका– १४ मा खानेपानी आयोजना निर्माणमा सहयोग गर्ने निर्णय खुलालले गरेको उल्लेख गरे । मौज्जात कोषबाट खानेपानी आयोजना संचालनकालागि ३ करोड रकम उपलब्ध गराउने निर्णय भएको छ । मौज्जात कोष कार्यविधि अनुसार खानेपानी आयोजना निर्माणकालागि ७५ प्रतिशत रकम अर्थात ३ करोड जिससले र २५ प्रतिशत उपमहानगरपालिकाले व्योहोर्ने निर्णय गरेको छ ।
यसैगरी, बैठकले दुईवटा स्थानीय तहलाई ४ वटा झोलुङ्गे पुला उपलब्ध गराउने समेत निर्णय गरेको छ । स्थानीय तहबाट माग भए अनुसार जिल्लाको ईन्द्रसरोवर गाउँपालिकालाई ३ वटा र गढी गाउँपालिकाबाट एकवटा झोलुङ्गे पुल उपलब्ध गराउने निर्णय भएको प्रमुख खुलालले बताए ।
त्यस्तै मकवानपुरमा आगामी फागुन महिनामा संचालन हुने स्थानिय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको उनले जानकारी दिए । यसका साथै कार्यालयका कर्मचारी र पदाधिकारीकालागि सिप विकास तालिम संचालन गर्ने निर्णय समेत गरेको उल्लेख छ । बैठकमा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी कपिलप्रसाद उपाध्याय, जिससका सदस्यहरु एवम् कर्मचारीहरुको उपस्थिति थियो ।

बाइलाइन नेपाल











