मेयर महतलाई कमल थापाको चेतावनीः बासुदेव सभागृह भत्काउने आँट छ ?
हेटौंडा । राप्रपाका अध्यक्ष कमल थापाले हुप्रचौरमा अलपत्र अवस्थामा रहेको बासुदेव सभागृह भत्काउन नदिने चेतावनी दिएका छन् । हेटौंडा उपमहानरपालिकाका मेयर हरिबहादुर महतले २०७६ पुस २० गतेको पत्रकार सम्मेलनमा सभागृह उपयोगमा ल्याउन नमिल्ने भएकाले भत्काउने तयारी भएको जानकारी दिएका थिए ।
शनिबार हेटौंडामा पार्टीको भ्रातृ संगठन ट्रेड युनियन महासंघ नेपालको वागमती प्रदेशस्तरीय श्रमिक भेलालाई सम्बोधन गर्ने क्रममा थापाले बासुदेव सभागृह भत्काउन नदिने बताएका हुन् । उनले हेटौंडा उपमहानगरपालिकाको निर्णयप्रति असन्तुष्टि जनाउँदै भत्काउने आँट छ भन्दै प्रश्न समेत गरेका थिए ।
उनले बासुदेव सभागृह र स्व. राजा वीरेन्द्रका शालिक पनि भत्काउन नदिने बताए । निर्माण भएका पूर्वाधारलाई उपयोगमा ल्याउनुको सट्टा भत्काउने, बिर्गार्नेतर्फ मात्र नलाग्न सुझाव दिए । उनले सभागृह र शालिक भत्काउन खोजे राप्रपाले अवरोध गर्ने चेतावनी दिए ।
थापाको पहलमा २०६३ सालमा निर्माण सुरु भएको सभागृहको नाम ज्ञानेन्द्र सभागृह राखिएको थियो । जनआन्दोलनपछि मकवानपुरका सहिद बासुदेव घिमिरेको नाममा नामाकरण गरिएको हो । मेयर महतले सभागृहको बनोट नै उपयोगमा ल्याउन नमिल्ने किसिमको रहेकाले भत्काउने तयारी गरिएको जानकारी दिएका थिए ।
हालसम्म दुई करोड भन्द धेरै खर्च भइसकेको सभागृह उपयुक्त नभएको भन्दै उपमहानगरपालिकाले भत्काउने निर्णय गरेको छ । मेयर महतले सभागृह भत्काएर बासुदेव स्मृति कमर्सियल भ्यूटावर निर्माण गर्ने बताए । जसका लागि २ करोड लगानी लाग्ने जनाइएको छ ।
२०६३ सालमा निर्माण सुरू भएर तीन वर्षसम्म लगातार स्थानीय विकास मन्त्रालयको जगेडा कोषको एक करोड ३० लाख रुपैयाँ खर्च गरिएको थियो । त्यसपछि सभागृह निर्माणको काम अघि बढ्न सकेको थिएन । त्यसैले सभागृहलाई सुधारका साथ अघि बढाएर लैजान तत्कालीन समयमा करिब चार करोड ३५ लाख रूपैयाँ लाग्ने हेटौंडा नगरपालिकाले अनुमान गरेको थियो ।
स्थानीय बजेटले नपुग्ने र राष्ट्रिय योजनामा नपरेपछि निर्माण अलपत्र परेको थियो । आठ कठ्ठा क्षेत्रफल रहेको भवनमा प्रदेशसभाको लागि आवश्यक पर्ने सत्तापक्षको लागि भवन, प्रतिपक्षी दलको कार्यालय, संसदीय समितिको लागि आवश्यक कार्यालय भवन निर्माण, मर्यादापालकको लागि भवन र पार्किङको लागि केही अपुग हुने भए पनि अन्य दृष्टिकोणले उपयुक्त हुने बताइएको थियो ।
प्रदेशसभा भवन निर्माणको प्रदेशको शहरी विकास तथा भवन कार्यालय र हेटौँडा उपमहानगरपालिकाको इञ्जिनियरलाई भवनको मास्टर प्लान छिटो तयार पार्न मुख्यमन्त्रीले निर्देशन दिएका थिए ।

बाइलाइन नेपाल











