हेटौंडामा लगातर पानी पर्दा चिसो बढ्यो, दामनमा हिमपातको सम्भावना
हेटौंडा । पश्चिमी न्यूनचापीय प्रणालीका कारण बिहीबार साँझदेखि वाग्मती प्रदेशको राजधानी हेटौंडामा पानी परिरहेको छ । शुक्रबार बिहान पनि लगातार पानी परिरहेको छ । जसका कारण चिसो बढेको छ भने जनजिवन प्रभावित भएको छ ।
हेटौंडासहित देशका विभिन्न भागमा पानी परिरहेको छ । उच्चहिमाली भेगमा पानीसँगै हिमपात पनि भएको छ । मकवानपुरको दामन, सिमभञ्ज्याङ क्षेत्रम पनि पानी परिरहेको छ । जसका कारण हिमपातको सम्भावना प्रवल रहेको स्थानियले जनाएका छन् । पानी परिरहेमा हिउँ पर्ने जनाइएको छ ।
आज बिहानैबाट पानी सँगै चिसो बढेकाले जनजिवनसमेत प्रभावित भएको छ । पानी परेर चिसो बढेसँगै हेटौंडा बजारमा सर्वसाधारणको चापमा पनि कमी आएको छ । चिसोबाट बच्च न्यानो कपडाको प्रयोग बढेको छ ।
थाहा नगरको दामन, पालुङलगायतको क्षेत्रमा पनि चिसो अत्याधिक बढेको स्थानीयले बताएका छन् । बिहानैबाट पानी परिरहेको र चिसो एकदम बढेको दामनका विनोद लामाले बताए । उनले लगातार पानी परेमा हिमपात हुने बताए । यसवर्ष पुसमा हिउँ फुसफुसाएपनि खेल्न मिल्ने गरी हिउँ परेको छैन ।
सिमसिम पानी परिरहेकाले दामन, सिमभञ्ज्याङमा हिमपातको सम्भावना रहेको स्थानीय होटल व्यवसायीले बताएका छन् । सिमसिम पानी परिरहेमा हिमपात हुने सम्भावना बढी रहेने जनाइएको छ ।

नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले सोमबार नै सुदूरपश्चिममा भारी हिमपात गराएको थियो । त्यसपछि पश्चिम क्षेत्रमा वर्षा हुँदै बिहीबार मध्य र पूर्वी भूभागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘बिहीबार साँझदेखि जुम्ला, हुम्ला, मनाङलगायत हिमाली भेगमा भारी हिमपात भइरहेको छ भने मध्य पहाड, पूर्वी पहाड र तराईमा वर्षा भइरहेको छ,” मौसमविद् बरुण पौडेलले भने, “वर्षा गएसँगै तराईमा लागेको हुस्सु भने हटेको छ ।’
हिउँदे वर्षा भए पनि यो वर्षापछि मौसममा तातोपन बढ्ने उनले बताए। महाशाखाका अनुसार शुक्रबार दिनभर बदलीको अवस्था रही देशका विभिन्न भेगमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमी उच्च पहाडी भेगमा भारी हिमपात हुनेछ ।

बाइलाइन नेपाल











