सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी

बाइलाइन नेपाल
२ माघ २०७६, बिहीबार ०८:३४

काठमाडौं । सरकारले सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी गरेको छ । सामाजिक सेवाका क्षेत्रका कामलाई प्रभावकारी बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ७७ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी गरेको हो ।

यस विषयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बुधबार प्रदेशका सामाजिक विकास मन्त्रीहरुसाग ललितपुरमा छलफल गरेका थिए । छलफलमा सामाजिक विकास कार्यालय स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति जुटेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको कार्यक्रमको रुपमा अघि बढाउने गरी सहकार्यका साथ काम गर्न प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न चाहेको जानकारी गराउँदै मन्त्री गुरुङले सामाजिक विकास कार्यालय स्थापना भए सामाजिक क्षेत्रको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सहज हुने विश्वास व्यक्त गरे । मन्त्री गुरुङको आह्वानमा बैठकमा सहभागी प्रदेशका मन्त्रीहरुले पनि आफूहरु हातेमालो गर्न तयार रहेको बताएका थिए ।

छलफलमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*