योग गरेर मनाइयो हेटौँडामा राष्ट्रिय योग दिवस
हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडामा योग गरेरै योग दिवस मनाइएको छ । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय र पताञ्जली योग जिल्ला समितिको संयुक्त आयोजनामा पाँचौं राष्ट्रिय योग दिवस हेटौंडामा मनाइएको हो ।
हेटौंडा–४ हुप्रचौर स्थित पशुपति मन्दिरको सभाहलमा भएको कार्यक्रममा सहभागीले योग अभ्यास गरेका थिए । कार्यक्रममा आहारविहारको बिषयमा चर्चा गरिएको थियो । खानामा सन्तुलन गर्न सके र नियमित व्ययाम गरे धेरै रोगबाट बच्न सकिने जनाइएको थियो ।
कार्यक्रममा प्रदेश सभास्य प्रेम पुलामी, मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, स्वास्थ्य निर्देशक रमेशप्रसाद अधिकारी, डा अर्जुन प्रसाद सापकोटा, ब्रह्म कुमार विजय भाईजी, पतञ्जली योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापालगायत जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रममा उपस्थितिहरुले संघीय तथा प्रदेश सरकारको योजना अनुसार मकवानपुर जिल्लालाई योग युक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
यसैगरी हेटौंडा– ७ मा बुधबार योग शिविरकोउद्घाटन् गरिएको छ । पाँचौं राष्ट्रिय योग दिवसका अवसरमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिविरको उद्घाटन् गरेका हुन् । ।

बाइलाइन नेपाल











