वाग्मती प्रदेशमा मन्त्रीपरिषद् विस्तारको तयारी, को–को छन् मन्त्री बन्ने दौडमा ?
हेटौंडा । प्रदेश ३ ले स्थायी राजधानी हेटौंडा र नाम वाग्मती पाएपछि अब राजनीति मन्त्रीपरिषद् बिस्तारतर्फ मोडिएको छ । लामो विवाद र रसाकस्सी पछि प्रदेश ३ ले आइतबार प्रदेशसभाबाट नाम र राजधानी पारित गरेको हो ।
नेकपाको दुई तिहाइ बहुमत रहेको वाग्मती प्रदेशमा मन्त्री बन्नका लागि आन्तरिक दौडधूप सुरु भएको छ । पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी र नाम पारित गर्ने समयमा केही सांसदलाई मन्त्री बनाउने आश्वासन दिएको स्रोतले जनाएको छ । नाम र राजधानी टुंगो लागेपछि सांसदहरुले मन्त्री बन्नका लागि शक्ति केन्द्र धाउन थालेका छन् ।
वग्मती प्रदेशमा अहिले ७ वटा मन्त्रालय रहेका छन् । संसाद संख्याको आधारमा ११ वटासम्म मन्त्रालय बनाउन सकिने जनाइएको छ । जसअनुसार अब ४ वटा मन्त्रालय विस्तार गरेर मन्त्री नियुक्त गर्न सक्ने जनाइएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय मुख्यमन्त्री पौडेलले नै हेरेकाले अब ५ जना सांसदलाई वाग्मती प्रदेशको मन्त्री बनाउन सकिन्छ । त्यससँगै राज्यमन्त्री पनि नियुक्त गर्न सकिने एक सांसदले जानकारी दिए ।
संविधानले पनि प्रदेशमा कुल सांसदको २० प्रतिशत नबढ्ने गरी मन्त्री बनाउन सक्ने व्यवस्था गरेको छ । वाग्मती प्रदेशमा १ सय १० जना सांसद रहेका छन् । जसले गर्दा थप ४ र मुख्यमन्त्रीसँग भएको एकसहित ५ मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकिन्छ ।
१३ जिल्ला रहेको वाग्मती प्रदेशको स्थायी राजधानी हेटौँडामा हाल ७ वटा मन्त्रालय रहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय छन् ।
को–को छन् दौडमा
मन्त्री बन्ने दौडमा त्तकालिन एमाले र माओवादीका नेताहरुले आआफ्नो शक्ति केन्द्र धाउन थालेको स्रोतले जनाएको छ । कतिले राजधानी पारित गर्नु अघि शिर्ष नेता र मुख्यमन्त्रीबाट पाएको आश्वासन अनुसार तत्काल मन्त्रीपरिषद् विस्तार गर्न मुख्यमन्त्रीलाई आग्रह गर्न थालेका छन् ।
मुख्यमन्त्री पौडेल पनि आफुले हेरिराखेको भौतिक पूर्वाधार विकास मन्त्रालयसहित केही मन्त्रालय थप गरेर मन्त्रीपरिषद् विस्तार गर्ने सोचमा रहेको सचिवालयले जनाएको छ । उनले आन्तरिक रुपमा कसलाई मन्त्री बनाउने भनेर पार्टीका शिर्ष नेतृत्वसँग छलफल गरेको जनाइएको छ । तर मन्त्रीपरिषद् विस्तारका लागि केही समय लाग्ने स्रोतले बताएको छ । तर अन्तरिक गृहकार्य भने सुरु भइसकेको जनाइएको छ ।
अहिलेको मन्त्रीपरिषद्मा महिला मन्त्री एकजना पनि रहेका छैनन् । त्यसैले मन्त्रीपरिषद् विस्तार गर्दा एकजना महिला सांसदलाई मन्त्री बनाउने तयारी गरिएको स्रोतले बताएको छ । अब बन्ने मन्त्रीमा कुमारी मोक्तान, रामेश्वर फुँयाल, विशाल खड्का, चन्द्र लामा, दीपक निरौला, रचना खड्काको नाम चर्चामा रहेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार अहिले चर्चामा रहेका मध्येबाट केही मन्त्री बन्ने निश्चित रहेको छ ।
महिलाबाट मोक्तान मन्त्री बन्ने सम्भावना बलियो रहेको जनाइएको छ । फुँयाल भौतिक पूर्वाधार विकास मन्त्रालय बन्ने निश्चित रहेको स्रोतले जनाएको छ । अहिले रहेका मन्त्रालयको जिम्मेवारीलाई टुक्राएर नयाँ मन्त्रालय बनाइने छ । हाल एउटै मन्त्रालयले धेरै क्षेत्रको जिम्मेवारी बहन गरिरहेका छन् ।
हाल रहेका मन्त्रालयको कार्यक्षेत्र यस्तो छ :
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयः प्रदेश मुख्यमन्त्रीको कार्यालय, प्रदेश मन्त्रिपरिषद्, प्रदेशभित्रको शासन व्यवस्थाको निर्देशन, नियन्त्रण र सञ्चालन, सञ्चार, भ्रष्टचार नियन्त्रण र सङ्घ र स्थानीय तहका सम्पर्क र समन्वय ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयः शान्ति सुरक्षा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धान ब्युरोे, विपद व्यवस्थापन, द्वन्द्व व्यवस्थापन, कानुन, न्याय तथा प्रदेशसभा मामिला र प्रदेश कर्मचारी प्रशासन ।
आर्थिक मामिला तथा योजना मन्त्रालयः अर्थ, योजना तथा बजेट, वित्तीय संस्थाहरू र तथ्याङ्क
भौतिक पूर्वाधार विकास मन्त्रालयः सडक, खानेपानी, जलस्रोत, ऊर्जा, सिंचाइ र यातायात
सामाजिक विकास मन्त्रालयः शिक्षा, स्वास्थ्य, सरसफाइ, महिला तथा युवा, खेलकुद, सामाजिक सुरक्षा, भाषा, संस्कृत र श्रम तथा रोजगार ।
उद्योग पर्यटन वन तथा वातवरण मन्त्रालयः उद्योग, वाणिज्य, आपूर्ति, पर्यटन, वन, विज्ञान, वातवरण र जलवायु ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयः भूमि व्यवस्थापन, गुठी व्यवस्थापन, कृषि, पशुपक्षी, सहकारी र गरिबी निवारण ।

बाइलाइन नेपाल











