स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णयको भव्य स्वागत
हेटौंडा । प्रदेशसभाको बैठकबाट स्थायी राजधानी र नाम पारित गरेको खुशियालीमा हेटौंडाको विभिन्न स्थानमा स्वागत गरिएको छ । राजधानी हेटौंडा र नाम वाग्मती कायम गर्ने प्रदेशका सबै सांसदलाई धन्यवाद दिंदै निर्णयको स्वागत गरिएको छ ।
हेटौंडामा रहेका विभिन्न संघसंस्थाले आइतबार साँझ बुद्ध चोकमा निर्णयको स्वागत गर्दै दीप प्रज्वलन गरेको छ । राजधानी हेटौंडा कायम गर्न सांसदहरुलाई दबाब दिन एकताबद्ध भएका विभिन्न संघसंस्थाको सहभागितामा दीप प्रज्वलन गर्दै निर्णयको स्वागत गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रमका संयोजनकर्ता तथा राष्ट्रिय युवा संघ मकवानपुरका संयोजक सन्तोष चौलागाईले अस्थायी राजधानी र नामविहीन प्रदेशलाई स्थायी राजधानी र नामाकरण गर्ने सबै सांसदलाई बधाई दिए । उनले प्रदेशसभाबाट भएको यो निर्णय १३ जिल्लाका सबै नेपालीको जित भएको उल्लेख गरे । राजधानी र नाम नतोक्दा अस्थायी मानसिकताबाट काम गर्नुपरेको अवस्था आजबाट अन्त्य भएकाले अब सरकारले विकास निर्माणलाई ध्यान दिएर समृद्धिको बाटोमा लाग्नुपर्ने बताए ।

यसैगरी, मकवानपुर उद्योग वाणिज्य संघले पनि संघ भवन अगाडि दीप प्रज्वलन गर्दै निर्णयको स्वागत गरेको छ । संघले निर्णयको स्वागत गर्दै बाजागाजासहित बजारका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । यस्तै होटल संघ मकवानपुरले पनि बुद्धचोक नजिकै दीप प्रज्वलन गरेको छ । हेटौंडासहित जिल्लाका विभिन्न स्थानमा निर्णयको स्वागत गर्दै दीप प्रज्वलन भइरहेका छन् ।

बाइलाइन नेपाल











