बाल कला–साहित्य महोत्सवमा आज मदनकृष्ण र हरिवंश आउने
हेटौंडा । नवोदय शिशु सदनको आयोजनामा हिजो शुक्रबार बाट सुरु भएको ‘हेटौंडा बाल कला–साहित्य महोत्सव–२०७६ आज पनि सञ्चालन हुनेछ । महोत्सवमा आज वरिष्ठ कलाकारसहित साहित्यकारको सहभागिता रहने आयोजकले जनाएको छ ।
महोत्सवमा आज कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, लेखिका राधा पौडेल, साहित्यकार अमर न्यौपानेसहितका साहित्यकार तथा कलाकारको सहभागिता रहने कार्यक्रम संयोजक रिमालले बताए ।
महोत्सवमा आज बाल कला–साहित्य सम्वन्धमा सर्जकहरुसँग छलफल, अबको शिक्षा कस्तो हुनुपर्ने भन्ने, विषयमा कार्यशाला, कथा लेखन, नाटक मञ्चन, कविता, मुक्तक, गजल लेखन र वाचन, कला प्रर्दशनी, पुस्तक प्रर्दशनीलगायतका हुने छ ।
नेपाली भाषा, साहित्य तथा कलाका बारेमा शिक्षकदेखि विद्यार्थीसम्मलाई ज्ञान दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको विद्यालयका निर्देशक दीपेश जोशीले जानकारी दिए । महोत्सवले सिर्जनात्मक पठन संस्कृति, कलाको विविध पक्षहरुको समिश्रित शिक्षण प्रविधि र प्रक्रियाका बारेमा ज्ञान दिने जोशीले जानकारी दिए ।
बिहान साढे ९ बजेबाट दिउँसो साढे तीन बजेसम्म सञ्चालन हुने महोत्सवमा करिब ६ हजार जनाको सहभागिता रहने विद्यालयको अनुमान रहेको छ । नवोदयका विद्यार्थीहरुले लेखेको कविता फक्रँदो इन्द्रेणी संग्रहपनि महोत्सवमा विमोचन हुने जनाइएको छ ।
महोत्सव गर्नुको उद्देश्य सिर्जनात्मक पठन संस्कृतिको विकास गराउने, सिर्जनात्मक क्षमता अभिवृद्धि गराउने, भाष विकासका लागि कला–साहित्यको सम्वन्ध र यसको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतको रहेको निर्देशक जोशीले बताए ।
महोत्सवमा हेटौंडा उपमहानगरपालिका, काठमाडौं पब्लिकेशन, बाल कला सङ्ग्राहलय, सर्जक सञ्जाल मकवानपुर, नेपाल बालसहित्य समाजको सहकार्यमा आयोजना गरिएको हो ।

बाइलाइन नेपाल











