संसदीय दलको निर्णयः राजधानी हेटौंडा, नाम वागमती
हेटौंडा । नेकपा सचिवालयले गरेको निर्णयलाई नै कार्यान्वयन गर्दै नेकपा प्रदेश ३ को संसदीय दलको बैठक समापन भएको छ । लामो रसाकस्सी र वादविवादका बीच पाँच दिनसम्म सञ्चालन भएको बैठकले अन्तत सचिवालयकै निर्णलाई मान्दै प्रदेशसभामा त्यही अनुसार सहभागिता जनाउने निर्णय गरेको छ ।
सचिवालय स्थायी राजधानी हेटौंडा र नाम वागमती राख्ने निर्णय गर्दै प्रदेश कमिटी र संसदीय समितिलाई कार्यान्वयन गर्न निर्देशन दिएको थियो । हेटौंडा हुने र नहुने विषयमा व्यापक छलफल चल्दै गर्दा चौथो दिनसम्म बैठक बिना निष्कर्ष टुंगिएको थियो ।
पाँचौ दिनको बैठकले राजधानी र नाममा एउटाएउटा मात्र प्रस्ताव लैजाने सहमति जुटाउँदै सचिवालयले गरेको निर्णय हेटौडा र बागमतीलाई नै प्रस्तावका रुपमा प्रदेशसभामा पेश गर्ने सहमति गरेका छन् । यो निर्णयसँगै प्रदेश ३ ले स्थायी राजधानी र नाम पाउने पक्का भएको छ ।
बैठक समापन पछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले संसदमा एउटा मात्र प्रस्ताव लैजाने सहमति गरेको जानकारी दिए । सबै सांसदको आआफ्नो धारणा सुनेपछि संसदमा राजधानीमा हेटौंडा र नाममा वागमतीको मात्र प्रस्ताव पेश गर्ने निर्णय सर्वसहमत भएको बताए ।
बैठकमा राखिएको राजधानी र नाममा एउटाएउटा मात्र प्रस्ताव पेश गर्न राखिएको प्रस्ताव सर्वसहत रुपमा पास भएको उनले बताए । अब सबै जना संसद केन्द्रीत हुने मुख्यमन्त्री पौडेलले जानकारी दिए । पुस २७ गते प्रदेश ३ ले स्थायी राजधानी मकवानपुरको हेटौंड र ना वागमती पाउने पौडेललेको भनाइ छ ।
यस्तै, नेकपा प्रदेश ३ की इन्चार्ज तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले संसदीय दलको बैठकमा हेटौंडा स्थायी राजधानी र नाम वागमती कायम गर्न सर्वसहमत सहमति जुटेको बताएकी छिन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै इन्चार्ज शाक्यले पार्टीको निर्देशानुसार नै राजधानी र नाममा एउटाएउटा मात्र प्रस्ताव दर्ता गर्न सबै सांसदहरु सहमत भएपछि पाँच दिन देखि बसेको बैठक समापन भएको उल्लेख गरिन् ।
सचिवालयले पार्टी प्रदेश कमिटी र सांसदहरु सँग सल्लाह नै नगरी निर्णय गरेका कारण केही समस्या आएपनि संसदीय दलको बैठकमा सबै सांसदले मत राखेपछि एउटा टुंगोमा पुगेको शाक्यले बताइन् । उनले भनिन्– पार्टीको निर्णयलाई सहज अवतरण गरेर निर्णय लागु गर्ने वातावरण संसदीय दलको बैठकमा भएको छ । अब प्रदेशसभाबाट यसलाई संविधान अनुरुप पारित गरेर टुंगोमा पुर्याउनु पर्छ ।’
उनले राजधानी र नाम राख्ने कुरा महत्वपूर्ण र दुरगामी विषय भएकाले लामो समय छलफल हुनु स्वभाविक प्रक्रिया भएको बताइन् । सबै सहमत भएकाले अब एकढिक्का भएर पार्टीको निर्णय कार्यान्वयन हुने शाक्यको भनाइ छ ।

बाइलाइन नेपाल











