आजबाट नवोदयमा बाल कला–साहित्य महोत्सव
हेटौंडा । मकवानपुर जिल्लामै संस्थागत विद्यालयतर्फ नमुना विद्यालयको रुपमा विकास भइरहेको नवोदय शिशु सदनले आज (शुक्रबार) बाट ‘हेटौंडा बाल कला–साहित्य महोत्सव–२०७६’ आयोजना गर्दैछ । महोत्सवको सबै तयारी पूरा भएको विद्यालयका निर्देशक दीपेश जोशीले जानकारी दिए ।
विद्यार्थीलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष कार्यक्रम सञ्चालन गदै आएको विद्यालयले अघिल्लो वर्षबाट महोत्सवको आयोजना थालेको हो ।
आज बिहान साढे ९ बजेबाट महोत्सव सुरु हुने कार्यक्रम संयोजक सीएम रिमालले बताए । नवोदय विद्यालयमै हुने महोत्सवको आज पहिलो दिन अरु विद्यालयबाट आएका विद्यार्थी र शिक्षकसहितको वर्कसपहरु सञ्चालन हुने जनाइएको छ ।
दुईदिनसम्म सञ्चालन हुने महोत्सवको भोली दोस्रोदिन कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, लेखिका राधा पौडेल, साहित्यकार अमर न्यौपानेसहितका साहित्यकार तथा कलाकारको सहभागिता रहने कार्यक्रम संयोजक रिमालले बताए ।
महोत्सवमा बाल कला–साहित्य सम्वन्धमा सर्जकहरुसँग छलफल, अबको शिक्षा कस्तो हुनुपर्ने भन्ने, विषयमा कार्यशाला, कथा लेखन, नाटक मञ्चन, कविता, मुक्तक, गजल लेखन र वाचन, कला प्रर्दशनी, पुस्तक प्रर्दशनीलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
नेपाली भाषा, साहित्य तथा कलाका बारेमा शिक्षकदेखि विद्यार्थीसम्मलाई ज्ञान दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको विद्यालयका निर्देशक जोशीले जानकारी दिए । यस वर्षबाट कलालाई पनि महोत्सवमा जोड्न लागिएको उनले बताए । महोत्सवले सिर्जनात्मक पठन संस्कृति, कलाको विविध पक्षहरुको समिश्रित शिक्षण प्रविधि र प्रक्रियाका बारेमा ज्ञान दिने जोशीले जानकारी दिए ।
महोत्सवले बालबालिकामा पहिचानसहितको आत्मनिर्भरता, समय सापेक्षितसहितको तार्किक, मोलिक सिर्जनात्मकता तथा शैक्षिक क्षेत्रको विकासमा सहयोग पुग्ने उल्लेख छ । दिउँसो साढे तीन बजेसम्म सञ्चालन हुने महोत्सवमा करिब ६ हजार जनाको सहभागिता रहने विद्यालयको अनुमान रहेको छ । नवोदयका विद्यार्थीहरुले लेखेको कविता फक्रँदो इन्द्रेणी संग्रहपनि महोत्सवमा विमोचन हुने जनाइएको छ ।
महोत्सव गर्नुको उद्देश्य सिर्जनात्मक पठन संस्कृतिको विकास गराउने, सिर्जनात्मक क्षमता अभिवृद्धि गराउने, भाष विकासका लागि कला–साहित्यको सम्वन्ध र यसको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतको रहेको निर्देशक जोशीले बताए ।
कार्यक्रममा बाल कला सङ्ग्राहलयका कैलाश श्रेष्ठले अध्ययनसँगै बालबालिकालाई कसरी उपयोगी कला सिकाउनु पर्ने बताए । उनले यस्ता कार्यक्रमले बालबालिकाले अध्ययनसँगै कला र साहित्यको क्षेत्रमा गुणस्तरिय यात्रा सुरु गर्ने बताए । कला तथा पुस्तकहरु पनि कुन उपयोगी र राम्रा हुन भन्ने कुरा जानकारी दिन आवश्यक रहेको श्रेष्ठको भनाइ थियो ।
महोत्सवमा हेटौंडा उपमहानगरपालिका, काठमाडौं पब्लिकेशन, बाल कला सङ्ग्राहलय, सर्जक सञ्जाल मकवानपुर, नेपाल बालसहित्य समाजको सहकार्यमा आयोजना गरिएको हो ।

बाइलाइन नेपाल











