क्याम्पसमा चौथो दिनपनि रिले अनशन जारी

बाइलाइन नेपाल
२५ पुष २०७६, शुक्रबार ०८:००

हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले शुल्क वृद्धिलगायतका निर्णयले विद्यार्थी मारमा परेको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले चौथो दिन पनि रिले अनशनलाई जारी राखेका छन् ।

चौथो दिन अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस कमिटी अध्यक्ष रामकृष्ण शिवाकोटी , स्ववियु सदस्य सौरभ अधिकारी , अनेरास्ववियू (क्रान्तिकारी ) क्याम्पस कमिटी उपाध्यक्ष छोइसान लामा अनशनमा बसिरहेका छन् ।

सञ्चालक समितिलाई थप दबाब सिर्जना गर्न विद्यार्थी संंगठनहरुले क्याम्पसमा पुस २२ गतेबाट रिले अनशन सुरु गरेका हुन् । यसअघि विद्यार्थी संगठनले शुल्क वृद्धि फिर्ता लिन माग गर्दै क्याम्पसको प्रशासन शाखा, सहायक क्याम्पस प्रमुखको कार्य कक्ष र स्टाफ कक्षमा ताला लगाइदिएका थिए ।

तीन दिनसम्म विद्यार्थी संगठन रिले अनशन बस्दा पनि क्याम्पस प्रशासन र सञ्चालक समितिले चासो नदेखाएको जनाइएको छ । छलफल तथा वार्ताका चासो नदेखाएका थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी स्ववियू सभापति कुमार केसीले दिए ।

शुल्क वृद्धि फिर्ताको माग गर्दै स्ववियु, अनेरास्ववियू र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा रिले अनशन सुरु गरेका हुन् । शुल्कवृद्धि फिर्ता नलिएसम्म अनशन जारी रहने बताइएको छ । समितिको बैठकले मासिक तथा भर्ना शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेको जनाइएको छ । प्रत्येक वर्ष शुल्कमा ५ प्रतिशत स्वतः वृद्धि हुने बैठकले निर्णय गरेको छ । यस्तै बैठकले क्याम्पस प्रवेश शुल्कमा सतप्रतिशत वृद्धि गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*