सेतीदेवीका विद्यार्थीलाई न्यानो पोशाक र सेनेटरी प्याड वितरण

बाइलाइन नेपाल
२४ पुष २०७६, बिहीबार १८:०९

हेटौंडा । मकवानपुरे समाज काठमाडौंले बकैया गाउँपालिका वडा नम्बर १२ जितपुर भञ्ज्याङ् ठिङ्गनमा पर्ने सेतीदेवी आधारभूत विद्यालयमा अध्ययनरत् १ सय ५० जना विद्यार्थीलाई सुइटर प्रदान गरेको छ ।

सोही अवसरमा रोज बहिनी किशोरी समूह काठमाडौंले कक्षा ६ र ८ मा अध्ययनरत् छात्राहरूलाई सेनेटरी प्याड समेत वितरण गरेको छ ।

बकैया गाउँ पालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर मोक्तानको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष अरुण गुरुङ, बकैया गाउँ शिक्षा समिति सदस्य हरिहर खनाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, गोरक्षेश्वर क्षेत्र विकास समितिका वरिष्ठ उपाध्यक्ष विजेन्द्र अग्रवाल, हेटौँडा लेडि जेसीसका शाखा अध्यक्ष सुशीला पौडेल, समाजसेवी सुनिल गिरी, मकवानपुरे समाज महिला समिति संयोजक सरिता कार्की,महिला समिति सदस्य सविना गौतम,हेम लामा लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

आर्थिक रुपले विपन्न विद्यार्थीहरू अध्ययनरत सो विद्यालयमा चिसो मौसममा पनि साधारण एक सरो विद्यालय पोशाकको भरमा बालबालिका विद्यालय आउने र त्यसले गर्दा पठनपाठनमा समेत प्रभाव पर्ने भएकाले न्यानो लुगाको माग गर्नु परेको विद्यालयको शिक्षक भावना सापकोटाले बताइन् ।

मकवानपुरमा जन्मेर काठमाडौंलाई आफ्नो कार्यक्षेत्र बनाएका संस्थाका अध्यक्ष अरुण गुरुङले देशका विभिन्न स्थानमा आफ्नो समूहले काम गरेको भएता पनि देशका भविष्य निर्माता विद्यार्थीका लागि आफ्नो जन्म भूमिमा आएर सहयोग गर्न पाउँदा आफूलाई सारै खुसि लागेको र आगामी दिनहरुमा पनि यसैगरी अन्य स्थानमा सहयोग गर्नका लागि संस्था प्रतिबद्ध रहेको जानकारी गराए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानबहादुर स्याङ्तानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले धन्यवाद मन्तव्य तथा शिक्षक नरेन्द्र रेग्मीले स्वागत मन्तव्य गरेका थिए । विद्यालय व्यवस्थापन समिति सदस्यहरू सानुमाया गोले, आशामाया वाइवा, पुर्ण बहादुर लो लगायतका उपस्थिति रहेको थियो ।

विद्यालयमा रोज बहिनी किशोरी समूह गठन गरि सेनेटरी प्याड प्रयोग र त्यसको व्यवस्थापनका सम्बन्धमा सो समूहकी संरक्षक भवानी तिमल्सिना न्यौपानेलाई जानकारी समेत गराइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*