मकवानपुर क्याम्पसका विद्यार्थी संगठनको रिले अनशन जारी, सञ्चालक समिति मौन

बाइलाइन नेपाल
२४ पुष २०७६, बिहीबार ०७:३०

हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले शुल्क वृद्धिलगायतका निर्णयले विद्यार्थी मारमा परेको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले तेस्रो दिन पनि रिले अनशनलाई जारी राखेका छन् ।

सञ्चालक समितिलाई थप दबाब सिर्जना गर्न विद्यार्थी संंगठनहरुले क्याम्पसमा पुस २२ गतेबाट रिले अनशन सुरु गरेका हुन् । यसअघि विद्यार्थी संगठनले शुल्क वृद्धि फिर्ता लिन माग गर्दै क्याम्पसको प्रशासन शाखा, सहायक क्याम्पस प्रमुखको कार्य कक्ष र स्टाफ कक्षमा ताला लगाइदिएका थिए ।

तीन दिनसम्म विद्यार्थी संगठन रिले अनशन बस्दा पनि क्याम्पस प्रशासन र सञ्चालक समितिले चासो नदेखाएको जनाइएको छ । छलफल तथा वार्ताका चासो नदेखाएका थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी स्ववियू सभापति कुमार केसीले दिए ।

शुल्क वृद्धि फिर्ताको माग गर्दै स्ववियु, अनेरास्ववियू र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा रिले अनशन सुरु गरेका हुन् । क्याम्पसमा आज दिउँसो स्ववियु सभापति कुमार केसी, अनेरास्ववियू क्याम्पस कमिटी अध्यक्ष एमबी बस्नेत र अनेरास्ववियु क्रान्तिकारी क्यम्पस कमिटीका अध्यक्ष रामकृष्ण शिवाकोटीले रिले अनशनको सुरुवात गरेका हुन् ।

शुल्कवृद्धि फिर्ता नलिएसम्म अनशन जारी रहने बताइएको छ । समितिको बैठकले मासिक तथा भर्ना शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेको जनाइएको छ । प्रत्येक वर्ष शुल्कमा ५ प्रतिशत स्वतः वृद्धि हुने बैठकले निर्णय गरेको छ । यस्तै बैठकले क्याम्पस प्रवेश शुल्कमा सतप्रतिशत वृद्धि गरेको थियो ।

७ वर्ष देखि शुल्क वृद्धि नगर्दा क्याम्पस घाटामा सञ्चालन भइरहेको भन्दै समितिले शुल्क वृद्धि गरेको जनाइएको छ । क्याम्पस वार्षिक रुपमा ४ करोड २० लाख घाटामा सञ्चालन भएको समितिको दाबी छ ।

विद्यार्थी संगठनले क्याम्पस घाटा रहेको नाममा विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्क बृद्धि निर्णय मान्य नहुने बताएका छन् । शुल्क बृद्धिको निर्णयप्रति घोर भत्र्सना गर्दै तत्काल निर्णय नसच्याए थप आन्दोलनका कार्यक्रम हुने चेतावनी दिइएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*