पानी पर्न थाल्यो, आज घाम लाग्ने सम्भावना छैन
हेटौंडा । आज देशभर मौसम बदली भएको छ । हेटौंडासहित देशका विभिन्न भागमा पानी पर्न सुरु गरेको छ । देशको केही स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । अहिले हेटौंडा, काठमाडौं उपत्यकासहित देशभरको आकास बादलले ढाकेको छ । त्यसैले आज घाम लाग्ने सम्भावना कम छ ।
मौसमविद प्रतिभा मानन्धरले भनिन्, ‘काठमाडौं उपत्यकासहित देशभर नै अहिले बदलीको अवस्था छ । आज पानी पर्छ, घाम लाग्ने सम्भावना छैन ।’
शुक्रबार रातिसम्मै उच्च पहाडी तथा हिमाली भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तो अवस्था शनिबार र आइतबार पनि जारी रहने छ । यद्यपि शनिबारबाट भने मौसममा क्रमिक सुधार हुने मौसमविद मानन्धरले बताइन् ।
बिहीबार दिउँसो काठमाडौं उपत्यकामा सामान्य वर्षासमेत भएको थियो । वर्षासँगै चिसो बढेको महसुस भएको छ । चिसो अझै बढ्ने भएकाले सतकर्तता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
१२ पुसमा काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ०।६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

बाइलाइन नेपाल











