‘बच्चाहरु हुन् मेरा प्रेरणा’

बाइलाइन नेपाल
January 2nd, 2020

‘२०१२ सिएनएन हिरो अफ दि इअर फ्रम काठमाडौं इज पुष्पा बस्नेत ।’

यो अवार्डका लागि अन्तिम १० मा परेपछि पुष्पा क्यालिफोर्नियाको लस एन्जलसमा पुगेकी थिइन् । दर्शकदीर्घाको अघिल्लो लाइनमा बसेकी पुष्पा आफ्नो नाम सुन्नासाथ भक्कानिइन् । आकाशतर्फ हेरेर हिक्का छोडिन् । छेउमै बसेकी आफ्नी आमालाई अंगालो हालिन्, उही मुद्रामा । अनि स्टेजतर्फ लागिन् ।

यस्तो लाग्थ्यो, यो उनका लागि अप्रत्याशित हो । स्टेजतर्फ हेर्थिन् मुस्काएजस्तो गर्थिन्, फेरि दर्शकतर्फ फर्किन्थिन्, भक्कानिन्थिन् । संसार जित्न सक्छु भन्ने जोश बोकेकी पुष्पालाई त्यतिबेला आफूलाई सम्हाल्न हम्मेहम्मे परेको थियो ।

जब सीएनएन हिरोको अवार्ड पुष्पाले पाइन्, एकछिन् हेरिन्, स्पर्श गरिन् अनि यसरी आफ्नो अंगालोमा कसिन्, जसरी एउटी आमाले लामो समयदेखि हराएको सन्तानलाई भेट्दा न्यानो अंगालोमा बाँध्छ । पुष्पा रुँदारुँदै हाँसिन्, हाँस्दाहास्दै रोइन् । र रुँदैरुँदै बोलिन्, ‘दिस इज फर माइ चिल्ड्रेन ।’ पुष्पाको हर्षको आँशुसँगै पड्किएको तालिको आयातन अझ बाक्लियो । तररर…।

जसबाट उनले नाम पाइन् । दाम पनि पाइन्, तीन करोड । जतिबेला उनको उमेर २८ वर्ष थियो । तर ३२ जनाका ‘मामु’ थिइन्, जसका आमाहरु जेलका चिसा छिडीमा थिए ।

अवार्डसँगै पाएको रकमले बूढानीलकण्ठको डाँडामा पाँच रोपनी जग्गा किनिन् । ‘मैले सात हजार घरभाडा तिर्न नसकेको पीडा थियो । र, काठमाडौंलाई हेर्दा तल देखियोस् यस्तो ठाउँमा जग्गा किन्न चाहन्थे’, पुष्पा बोलिन् ।

आमाबाबु जेलमा परेका कारण त्यहीँ पुगेका बालबालिकालाई उद्दार गरेर हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी लिन थाल्दा उनी भर्खर २१ वर्षकी थिइन् । २०७२ मा आइपुग्दा चपलीमा ४३ जना बच्चासँगै बसिरहेकी थिइन् । बिस्तारै उनी आफ्नो सपनाको घर बनाउन शुरु गर्दै थिइन् । अर्थात ‘पुतलीको घर’ ।

डोनर खोजिन् । जसोतसो घर निर्माणको अन्तिम चरणमा थियो । उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार घर निर्माण गर्दै थिइन् । त्यो घर नभएर गाउँजस्तो बन्दै थियो । सुविधा सम्पन्न गाउँ, जहाँ बालबालिकालाई कुनै कुराको कमी नहोस् ।

शनिबारको दिन, १२ वैशाख २०७२ । पुष्पा निर्माणाधीन आफ्नो सपनाको घर हेर्दै थिइन् । जेठो छोराले फोन गरे, ‘मामु चट्नी खाने तिल छैन, लिएर आउनू न है ।’

पुष्पा आफ्नो बाबुको रातो भ्यान चढेर निस्किइन् । पार्क भिलेज नजिकै पुगेकी थिइन्, बटारिएको सर्पजस्तो देखियो बाटो । पार्क भिलेजको स्वीमिङ पुलको पानी छर्लङ्ग गर्दै बाटोमै निस्कियो । ‘म गाडिबाट हाम फालिहालेँ । दिमागले कामै गरेन’, पुष्पा अत्तालिए जसरी बोल्छिन्, ‘मैले बच्चा, घर सबै सम्झिएँ ।’

भूकम्पले यसरी हल्लाएको तीन दिनपछि कन्ट्रयाक्टरले फोन गरेर भन्यो, ‘घर त सबै भत्कियो म्याम !’

अब झन् कसरी काम गर्छ पुष्पाको दिमागले । भन्छिन्, ‘घर अगाडि टेन्ट टाँगेकी थिएँ । आधा बोटल पानी राखेर हेरिबस्थेँ कि कतिबेला भूकम्प आउँछ ।’

एक हप्तापछि बल्ल उनी बूढानीलकण्ठ पुगिन् । ‘भत्किएका घर देख्नासाथ गेटमै ढलेँ । मेरा सबै सपनाहरु भत्किएजस्तो लाग्यो’, पुष्पा नियमित स्मरणमा छिन् ।

जेसुकै बितोस्, पुष्पासँग ४० जना बालबालिकाको भविष्य थियो । केही त गर्नै पर्‍यो । एक महिना नबित्दै उनले जर्मनीको टीभी कम्पनीलाई मेल गरिन् । उसले जवाफ फर्कायो, ‘दुई पेज लेखेर पठाउनू ।’ पुष्पाले त्यसै गरिन् । इमेलमा जवाफ आयो, साढे चार करोड सहयोग गर्ने बाचासहित ।

पुष्पा सक्ड ! जसरी भूकम्प आउँदा उनी अचम्मित भएकी थिइन् । ‘यो सपना कि विपना ! चार लाख भनेको कि चार करोड !’, उनको हाउभाउ परिवर्तन हुन्छ, ‘मैले टेन्टभित्र बसेर थोप्लो गन्थेँ । साँच्चै हो त ?’ तर यो विपना नै थियो ।

उनलाई त्यति नै बेला लाग्यो- तँ आँट म पुर्‍याउँछु भन्थे, साँच्चै हो रहेछ ।

‘त्यसपछि त समाज कल्याण परिषदबाट अनुमति लिएर ड्याङ कि ड्याङ घर बनाइहाल्यौं नि’, पुष्पा उत्साहित बन्छिन् । भवन निर्माणमा साढे नौ करोड खर्चेकी छिन् पुष्पाले ।

****

गेटबाट छिर्नेवित्तिकै कुनै पार्क जस्तो देखिन्छ पुतलीको घर । चारैतिर दुई तले चार वटा सुन्दर घर छन् । बीचमा ठूलो स्पेस । एउटा कुनामा बच्चा खेल्ने खेलसामाग्रीसहित चौर छ । अझ पारी खोला । वरिपरि जंगल ।

एउटा घरको भुइँ तलामा चिरिच्याट्ट तेक्वान्दोको ठूलो खेल मैदान जस्तो । अर्को तलामा उस्तै सफा । पुष्पाका छोराहरु सुत्ने बेड रुम, जहाँ निला रङका ओच्छ्यान छन् ।

अर्को भवनमा छोरीहरु बस्ने उस्तै सफा घर, जहाँ राता रङका ओच्छ्यान छन् । भुइँमा एउटा रातो डोरो हुँदै ट्वाइलेट बाथरुम पुगिन्छन् । त्यो डोरो र ट्वाइलेट फरक क्षमता भएकाहरुका लागि पनि हुने गरी निर्माण गरिएको छ ।

त्यसकै अगाडिको अर्को भवनमा कार्यालय छ, जसको दोस्रो तलामा पुष्पा बस्छिन् । भुइँ तलामा ठूलो हल छ, जहाँ बच्चाहरु खेल्नका लागि काठका अनेक सामाग्री छन् ।

एउटा कुनाबाट तल झर्ने खुड्किलो भेटिन्छ । त्यहाँबाट देखिन्छ, छानो हालेको खुला ठाउँ । जहाँ आउटडोर कार्यक्रम हुन्छ । त्यहीँबाट देखिन्छ पुरै काठमाडौं शहर ।

यहाँ एकातिर अर्को भवन छ । जहाँ पढ्ने कोठा, पुस्तकालय र कम्प्युटर कोठाहरु छन् । उस्तै सफा ।

र, त्यसकै अर्को पट्टी भवनमा पुष्पा सुत्छिन् । पुष्पा भन्छिन्, ‘मलाई अनुशासन चाहिन्छ । महिनाको एक-दुई पटक म आफैंले सबै घर सफा गर्छु । ताकी बच्चाहरुलाई परोस्, मामुले पनि यस्तो काम गर्नुहुन्छ, काम सानो ठूलो हुँदो रहेनछ ।’

कार्यालय समयमा हामी पुग्दा पुष्पा अफिसको क्याबिनमा थिइन् । सामान्य कालो स्वीटर र कटनको पाइन्टमा । फुङ्ग उडेको कपालमा तेलसम्म लगाएकी छैनिन् । कर्ली कपाललाई पछाडि लगेर बाँधेकी छन् । जहाँ पुगुन्, पुष्पाको ‘ड्रेस कोड’ यस्तै हो ।

‘किन यति साधारण छिन् पुष्पा ?’, धेरैले प्रश्न तेर्स्याउँछन् ।

पुष्पा हाँस्दै जवाफ दिन्छिन्, ‘बिहान उठेर ब्रस गरेर हिँड्ने फुर्सद हुँदैन । कहाँबाट मेन्टेन गर्ने ?’ हो, पुष्पाले कामलाई नै सुन्दरता सम्झन्छिन्, गहना मान्छिन् ।

****

काठमाडौंको डिल्लीबजारमा जन्मिइन् पुष्पा । उनको हुर्काइमा कुनै कुराको अभाव खड्किएन । त्यसैले उनलाई कहिल्यै इच्छा भएन कि यो लगाउन पाए, त्यो खान पाए ! उनी भन्छिन्, ‘मान्छेसँग जे हुँदैन, त्यसको न चाह गर्ने हो ।’

तर खै किन हो उनलाई कहिल्यै कपडामा त्यति धेरै ‘चुजी’ हुन मन लागेन । स्नातक पढ्दासम्म पनि उनी कुर्तामा हुन्थिन् । बाहिर हिँड्दा जहिले बुवाको कम्पनीको टिसर्ट लगाउँथिन्, तल सामान्य ट्रयाक ।

यहीबीच पुष्पाले तीन वर्षअघिको सिंगापुरको घटना सम्झिइन् ।

पुष्पा जुनसुकै कार्यक्रममा जाँदा पनि प्रायः आफ्नै संस्थाको टिसर्टमा हुन्छिन् । उनी एउटा तालिममा सिंगापुर पुगेकी थिइन् । कार्यक्रममै त्यहाँका प्रोफेसरले अकस्मात सोधे, ‘तिमीसँग अरु कपडा छैन कि क्याहो ? सधैं एउटै कपडामा हुन्छौ ।’

पुष्पाले भनिन्, ‘मसँग एउटै रङको कपडा दश जोर हुन्छ । आइ डोन्ट ह्याभ मल्टिपल च्वाइस । किनकी यसले डिसिजन पावरलाई एकदमै कमजोर पार्छ ।’

‘मैले कुनै डिसिजन लिनुपर्‍यो भने ढ्वाक्क लिन्छु । त्यो हल्लिँदैन । त्यसमा मेरो कपडाको पनि प्रभाव छ’, पुष्पाले तर्क दिइन् ।

हुन त उनका दराज कपडाले भरिएका छन्, तर साधारण । प्रायः एउटै रङका कपडाले । र, उनको घरमा कुनै मेकअपको सामाग्री छैन । ‘दश वर्षअघि जापान जाँदा आमाले कर गरेर लिपिस्टिक लिएको थिएँ । त्यो पनि ढुसी परेछ, उनी भन्छिन्, ‘अब उमेर पनि भयो । त्यसैले डाक्टरसँग जाँच गरेर सनब्लक क्रिमचाहिँ लगाउँछु ।’

उनलाई थाहा छ कि हाम्रो समाजले के गर्‍योभन्दा पनि के लगायो भन्नेमा बढ्ता ध्यान दिन्छ । तर पुष्पालाई यसको बाल मतलब। ‘मैले चस्माचाहिँ राम्रो चलाउँछु किनकी यो देख्ने कुरा हो । जुत्ता राम्रो लगाउँछु, नत्र लड्ने डर हुन्छ’, उनी पहिरनबारे थप बोल्छिन्, ‘स्वीमिङ पुल जाँदा स्वीमिङ कस्टुम लगाउनुपर्छ भन्ने सेन्स त छ नि मसँग ।’

अनुहारमा त कामले चमक ल्याउनुपर्छ । यो उनको आदर्श हो ।

त्यसैले त पुष्पालाई गोलकास्ट डटकमले २०१० देखि २०१९ सम्म अर्थात् दशककै प्रेरणादायी व्यक्तित्वको पहिलो नम्बरमा राखेको छ । सीएनएन सुपर हिरो अवार्डबाट सम्मानित भएकी उनले ग्रेटा थनवर्ग, स्टिभ जब्स, मलाला युसुफजाइलगायतलाई उछिनेर पहिलो नम्बरमा स्थान बनाएकी हुन् ।

पुष्पाको चाहिँँ प्रेरणाको स्रोत के हो त ?

पुष्पा फ्याट्ट आमा-बाबु सम्झन्छिन् । ‘आमा-बाबाले मलाई सबैभन्दा ठूलो कुरा अनुशासन दिनुभयो ।’ त्यसैले त अहिले पनि उनका आमा-बाबालाई हरेक दिन बिहान फोन गरिनन् भने राम्रोसँग उनको दिन बित्दैन । उनले सुत्नुअघि फोन गर्छिन् ।

र, सम्झन्छिन्, आफ्ना छोराछोरीलाई । ‘कुनै आमा-बाबुले मुटुको टुक्रालाई त्यसै अञ्जान व्यक्तिको हातमा सुम्पन त सक्दैन नि ! ममाथि उनीहरुका आमा-बाबुको ठूलो विश्वास छ’, पुष्पा बोल्दै जान्छिन्, ‘यी बच्चाहरु हुन् मेरा प्रेरणा ।’

तत्कालीन इन्स्पेक्टर मिरा चौधरी हुन् उनकी प्रेरणा । ‘उहाँलाई देख्दै लाग्थ्यो वाह् ! महिला भएर पनि कस्तो बोल्ड’, छक्क पर्दै भन्छिन्, ‘उहाँले मलाई जेल देखाउन नलगेको भए यहाँ हुन्थिनँ ।’

सेन्ट जेभियर्समा पढ्दा फिल्ड भिजिटका लागि उनलाई जेल देखाउन लगिएको थियो । फर्कने बेला एक अञ्जान बालिका पुष्पाको कुर्ताको फेरोमा झुण्डिइन् । पुष्पा पग्लिइन् । त्यसपछि उनी विद्यार्थीबाट जेलका बालबालिकाका ‘मामु’ भइन् । पुष्पा भन्छिन्, ‘आफू आफैंदेखि पनि प्रेरित हुन जरुरी छ । आफ्नो कामबाट सन्तुष्टि लिन सक्नुपर्दोरहेछ, यसैबाट प्रेरित भइँदोरहेछ ।’

****

अहिले पुष्पा नियमित कलेज जान थालेकी छन्, मास्टर्स इन टेक्निकल भोकेस्नल एजुकेशन विषय छनोट गरेर । अन्तिम परीक्षाको तयारीमा छिन् उनी । किनकी उनले बच्चाहरुलाई बालाजु टेक्निकल स्कुलमा पढाएकी छन् र आफू पनि अपडेट हुनु छ ।

पुष्पासँगै सन् २०२० मा उनका एक छोरा र एक छोरीले काठमाडौं युनिभर्सिटीबाटै ग्राजुएसन गर्दैछन् । पुष्पा १० वर्षपछि कलेजमा फर्किएकी हुन् । ‘बच्चाहरुलाई इन्स्पायर गर्नका लागि पनि म कलेज जान थालेकी छु । उनीहरुलाई लाग्नसक्छ यतिधेरै व्यस्ततामा पनि कलेज पढ्न सकिँदोरहेछ’, पुष्पा भन्छिन्, ‘सबैभन्दा ठूलो कुरा मैले समय व्यवस्थापन गरेकी छु ।’

महत्वपूर्ण कार्यक्रमबाहेक पुष्पा अफिसमै हुन्छिन् । र, छोराछोरीलाई संस्कार सिकाउँछिन् ।

कतिले प्रश्न गर्छन्, पुष्पाले बच्चाहरुलाई किन यति विलाशी जीबन दिएको होला ? एउटा समय यस्तो थियो, मान्छेहरुले उनलाई बच्चाहरु राख्न घर भाडामा दिँदैनथे । जेलका बच्चा भनेर दुरदुर गर्थे । कसैले साथी बनाउँदैनथे । र, पनि पुष्पाले आमा बनेर हुर्काइरहिन् । ‘मानिसहरुले मलाई बाहिरबाट हेर्दा कठोर भन्छन् । तर भित्र त्यति नै नरम छु’, उनी विस्तारै बताउँछिन्, ‘म कठोर भएको भए पैसा मात्र कमाएर बस्ने थिएँ । बच्चाहरुसँग रमाइलो गर्न कहाँ सक्थेँ ?’

सिएनएन सुपर हिरोको अवार्ड उचालेपछि भनेकी थिइन्, ‘तपाईंले आफूलाई विश्वास गर्नुस् । आफ्नो प्यासनमा विश्वास गर्नुस् । फेलियर इज द सक्सेस अफ लाइफ ।’ हो, उनले आफ्नो प्यासनलाई निरन्तरता दिइन् ।

प्रारम्भिक बालबिकास केन्द्र (पुतलीको घर) शुरु गरेको १५ वर्षपछि पुष्पा सन्तोषको सास फेर्दैछिन्, ‘आइ ह्याड अ व्युटिफूल जर्नी अफ लाइफ ।’

अब उनको उद्देश्य छ, जेलबाट निस्किएका महिलाहरुलाई एउटा सेल्टर बनाउने । के उनको जीबनको योजनामा बिहेचाहिँ परेकै छैन ? पुष्पा भन्छिन्, ‘गरौंला नि बिहे त । उमेर छँदै छ । बिहे गर्दिनँ भनेर कहाँ भनेको छु र !’  साभारः अनलाइनखबर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*