नक्कली स्मार्ट लाइसेन्स बनाउने प्रक्राउ
नक्कली सवारी चालक अनुमति पत्रको बिगबिगी हटाउन यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स प्रयोगमा ल्यायो। तर, यही स्मार्ट लाइसेन्स पनि नक्कली बनाउने गिरोह सक्रिय रहेको पाइएको छ।
प्रहरीले नक्कली स्मार्टधारी एक सवारी चालकलाई सातदोबाटोबाट पक्राउ गरेपछि स्मार्ट लाइसेन्स बनाउने गिरोह सक्रिय रहेको खुलेको हो। अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाका अनुसार नक्कली लाइसेन्स तयार पार्ने न्यूरोडको फोटो स्टुडियोमा प्रहरीले छापा मारेको छ।
छापा मार्दा पुरानो फोटो स्टुडियो कन्सर्नबाट छ जना पक्राउ परेका छन्। ‘एक जना स्मार्ट लाइसेन्सधारी व्यक्ति, केही दलाल पक्राउ गरिएको छ,’ महाशाखा प्रमुख एसएसपी सहकुल थापाले भने। सञ्चालक दुई जना फरार रहेको थापाले बताए।
पक्राउ पर्नेमा सर्लाही लालबन्दी घर भई जडिबुटी बस्ने दीपक ब्लोन, कुलेश्वर बस्ने बुद्धिबहादुर रोका, चुच्चेपाटी बस्ने अनन्ता गुरूङ, बारा घर भई अनामनगर बस्ने अशोक कार्की, सिरहा सुखीपुर घर भई कोटेश्वर बस्ने मोहन यादव र काठमाडौं लाजिम्पाटका कुमार तन्डुकार छन्।
उक्त फोटो स्टुडियोबाट बुद्धिबहादुर रोकालाई नक्कली स्मार्ट लाइसेन्स बनाइएको थाहा भएको छ। पुरानो फोटो स्टुडियोबाट प्रहरीले केही प्रिन्टर तथा कागजातहरू बरामद समेत गरेको छ।

बाइलाइन नेपाल











