जेसीजको कार्यकारिणी उपाध्यक्षमा पुष्पराज पुडासैनीको उम्मेदवारी घोषणा
हेटौंडा । हेटौंडा जेसीजको नयाँ नेतृत्व चयन गर्ने मिति निजिकिंदै जाँदा उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ । विभिन्न पदमा आंकाक्षीहरुले उम्मेदवारी घोषणा गरिरहेका छन् । यसैक्रममा युवा व्यवसायी पुष्पराज पुडासैनीले कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
वर्ष २०१४ बाट हेटौंडा जेसीजमा प्रवेश गरेका पुडासैनी आइटी क्षेत्रको व्यवसायी हुन् । उनले जेसीजमा प्रवेश गरेको वर्ष नै मोटिभेसन तालिमको संयोजन गरेका थिए । वर्ष २०१५ मा शाखा सचिव, वर्ष २०१६ मा उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेका पुडासैनी वर्ष २०१७ र २०१८ मा साधारण सदस्य मात्र रहेर काम गरेका थिए ।
वर्ष २०१९ मा कोषाध्यक्षको जिम्मेवारी पुरा गरेका पुडासैनीले अष्टकुमारी टि २० क्रिकेटको संयोजक भएर सफलतापूर्वक प्रतियोगिता सम्पन्न गरेका थिए । जेसीजमा रहेर पाएको जिम्मेवारी पुरा गरेका पुडासैनीले अब कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिने बताए । उनले जेसीजका सबै सदस्यको हौसालाका कारण उम्मेदवारी घोषणा गरेको उल्लेख गरे ।
क्यान मकवानपुरको दोस्रो कार्यकाल अध्यक्षका रुपमा नेतृत्व गरिरहेका पुडासैनीले जेसीजको कार्यकारिणी उपाध्यक्षमा अवसर दिए मुलमन्त्रलाई आत्मसाथ गर्दै समाजको विकासका लागि काम गर्ने प्रतिवद्धता जनाए । उनले सबै सदस्यलाई एकढिक्का बनाएर सहकार्य र सामूहिक निर्णयबाट जेसीजलाई नयाँ उचाइमा लैजाने बताए ।
कार्यकारिणी उपाध्यक्षमा २ जनाका लागि हालसम्म पाँच जनाको चर्चा रहेको छ । यही पुस १८ गते साधारणसभा र १९ गते निर्वाचन प्रक्रिया रहेको छ । हेटौंडा जेसीजमा एक सय ५३ जना सदस्य रहेका छन् ।

बाइलाइन नेपाल











