कम्प्युटर अपरेटर १५ हजार / सशस्त्र प्रहरीका घुमुवा ५५ सय घुससहित पक्राउ
वीरगन्ज– पर्साको वीरगन्ज महानगरपालिकाका कर्मचारी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । महानगरपालिकाको लेखा शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत रामेश कुमार जैसवाल १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले जैसवाललाई १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले उपभोक्ता समितिमार्फत सम्पन्न भएको कामको भुक्तानी दिने प्रयोजनका लागि लिएको घुुससहित जयसवाललाई पक्राउ गरिएको जानकारी दिए ।
सशस्त्र प्रहरीका घुमुवा ५५ सय घुससहित पक्राउ
विराटनगर– सशस्त्र प्रहरीबाट घुमुवाको रुपमा (सादा पोषाक)मा परिचालित प्रहरी जवान घुससहित पक्राउ परेका छन् ।
भारतबाट प्याज ल्याउने व्यापारी तथा स्थानीय जनतासँग लिएको ५ हजार ५ सय रुपैयाँ घुससहित सशस्त्र प्रहरी जवान सचितनारायण विश्वास पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले प्रहरी जवान विश्वासलाई विराटनगर महानगरपालिका–११ बसपार्कबाट पक्राउ परेका हुन् ।
मोरङको ग्रामथान तेतरिया घर भएका विश्वास सशस्त्र प्रहरीको विराटनगरस्थित बोर्डर आउट पोस्ट (बीओपी) बखरीमा कार्यरत थिए ।

बाइलाइन नेपाल











