दोलखाको गौरीशंकर हिमाल आरोहण गर्न नमिल्ने, यस्ता छन् कारण

बाइलाइन नेपाल
December 28th, 2019

हेटौंडा । नेपालको दोलखा जिल्ला तथा चीनको सिमानामा रहेको गौरीशंकर हिमाल आरोहण गर्न नमिल्ने जनाइएको छ । धार्मिक मान्यता अनुसार गौरीशंकरलाई भगवानको रुपमा लिइदै आएकाले आरोहण गर्न नमिल्ने बताइएको छ ।

प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्षको तयारीका बारेमा जानकारी दिन शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री अरुण नेपालले गौरीशंकर हिमाल धार्मिक मान्यता अनुसार आरोहण गर्न नमिल्ने जानकारी दिए । गौरीशंकर हिमाल आरोहण गर्न नमिल्ने भएकाले प्रदेश सरकारले त्यसको दर्शनका लागि हिमाललाई एक फन्को घुम्ने गरी परिपथ निर्माण गर्न लागेको बताए ।

हिन्दू धर्मावलम्बीहरूले अराध्यादेव शिव र पार्वतीको प्रतीक रुपमा गौरीशंकर हिमाललाई लिने गरेको पाइएकाले परिपथ निर्माण गरेर पर्यटकलाई त्यहाँसम्म पुर्याउने काममा प्रदेश सरकार लागि रहेको मन्त्री नेपालले बताए । अहिले परिपथ निर्माणका लागि डिपिआर अध्ययनको काम भइरहेको उनले जानकारी दिए ।

७१३४ मिटर अग्लो यो हिमालबाट नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ। जापानमा फुजि पहाडलाइ पवित्र पहाडका रुपमा लिएजस्तै नेपालमा गौरीशंकर हिमाललाई पवित्र हिमालका रुपमा लिइन्छ।

गौरीशंकर हिमाललाई नेपालको ‘कैलाश क्षेत्र’का रुपमा विकास गर्न समेत सुझाव दिइएको छ । धार्मिक–सांस्कृतिक पर्यटन र जैविक विविधताका हिसाबले गौरीशंकर हिमाल र रोल्वालिङ क्षेत्रको राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्वमाथि प्रकाश पार्दै संस्कृतिविद् प्राडा जगमान गुरुङले त्यस्तो निष्कर्ष अघि सारेका हुन् ।
डा. गुरुङले तिब्बतको कैलाश र गौरीशंकर क्षेत्रबीच तुलना गर्दै गौरिशंकरलाई नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने बताएका हुन् ।

‘कैलाश हिमाललाई शिवको वासस्थानसँग जोडेर प्रचार गर्दै चीनले पयर्टक आकर्षित गरेको छ तर गौरीशंकर त नामै जोडिएकाले त्यो भन्दा महत्वपूर्ण तिर्थस्थल भएको गुरुङको भनाइ छ ।

शिव–पार्वती पुत्र कुमार गौरीशंकर क्षेत्रमै जन्मिएको ऐतिहासिक तथ्य अघि सार्दै प्राडा गुरुङले कैलाशको फेदीमा मानसरोवर र त्यसभन्दा तल छोतर गुम्बा भए जस्तै गौरीशंकरको फेदीमा सुन्दर च्छो रोल्पा हिमताल र बेदिङ गुम्बा रहेकाले नेपालको कैलाशका रुपमा विकास गर्नुपर्ने औंल्याए ।

गौरीशंकर विद्यार्थीसहित अध्येताहरुका लागि महत्वपूर्ण स्थल हुने र जैविक विविधताले भरिएकाले नेपालकै ठूलो योग ध्यान केन्द्र स्थल स्थापना गर्न सकिने जनाइएको छ । ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*