हेटौंडा जेसीजमा विवेक आन्नद न्यौपाने उपाध्यक्षमा उठ्ने
हेटौंडा । हेटौंडा जेसीज वर्ष २०२० का लागि नयाँ नेतृत्व चयनको मिति नजिकिदै जाँदा उम्मेदार घोषणा गर्ने क्रम पनि बढेको छ । नयाँ नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा भइरहेका छन् ।
शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ भन्ने मान्यता बोक्दै र स्थापित गर्दै आएको हेटौंडा जेसीजको वर्ष २०२० को उपाध्यक्षमा विवेक आन्नद न्यौपानेले पनि उम्मेदवारी घोषणा गरेका छन् । हेटौंडा जेसीजको विभिन्न पदमा रहेर जिम्मेवारी निर्वाह गरिसकेका न्यौपानेले बाइलाइन नेपाल डटकमसँग कुरा गर्दै उपाध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताएका हुन् ।
उनले जेसीजको विभिन्न पदमा रहेर जिम्मेवारी पुरा गरेका कारण अब उपाध्यक्षमा रहेर काम गर्ने उत्साहले उम्मेदवारी दिन लागेको उल्लेख गरे । जेसीज जस्तो पवित्र सामाजिक संस्थामा रहेर समाजको हितमा काम गर्ने जोश भएकाले उठ्ने बताए । उनले पूर्व तथा निवर्तमान अध्यक्ष अन्य अग्रज र जेसीजका सदस्यको साथ र सहयोगले नै यहाँसम्म आएको स्मरण गर्दै अबको नेतृत्व चयनमा पनि साथ र सहयोगको अपेक्षा न्यौपानेले गरेका छन् ।
सन २०१७ बाट जेसीजमा प्रवेश गरेका न्यौपाने २०१८ मा एरिया कोअर्डिनेटर, २०१९ मा मिडिया कोअर्डिनेटर, पानी ट्याकी तथा स्टेशनरी वितरण कार्यक्रमको कोअर्डिनेटरलगायतका विभिन्न कार्यक्रममा कुशलतापूर्वक भूमिका निर्वाह गरेका छन् । जेसीजको ४१ औं वार्षिक साधारणसभा पुस १८ गते हेटौंडामा हुने जनाइएको छ ।

बाइलाइन नेपाल











