घुस लिने सिडिओ रिजाल निलम्बित
मुद्दाका अभियुक्तसँग धरौटीको बहानामा घुस लिने दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकार (सिडिओ) खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रका आधारमा उनी मंगलबारदेखि निलम्बनमा परेका हुन् ।
रिजालमाथि छानबिन सुरु गरी आयोगले निलम्बन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । मंगबारदेखि नै रिजाललाई निलम्बन गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए । अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका तीन अभियुक्तसँग रिजालले ९० हजार घुस लिएका थिए । १० हजारको रसिद दिएर एक लाख लिएको भन्दै पीडितले प्रश्न गरेपछि उनले पैसा फिर्ता गरेका थिए । घटना मिडियामार्फत सार्वजनिक भएपछि गृह मन्त्रालयले उनलाई गत बिहीबार नै हटाइसकेको छ ।
सो घुसकाण्डको अनुसन्धान भइरहेको र प्रमाण नष्ट गर्न सक्ने भएकाले रिजाललाई निलम्बनका लागि पत्र लेखिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । उपसचिव रिजाल यसअघि अख्तियारमा सहायक प्रवक्ताका रूपमा काम गरेका कर्मचारी हुन् । चार महिनाअघि मात्र उनी दोलखा गएका थिए । जिल्लामा गएदेखि नै धम्काएर विभिन्न सर्वसाधारणसँग उनले घुस लिएको खुलेको छ । आयोगले पीडितहरूसँग सम्पर्क गरी उनीमाथि छानबिन थालेको छ ।

बाइलाइन नेपाल











