म्यानमारकी नेतृ सूची हेगमा उपस्थित

बाइलाइन नेपाल
२५ मंसिर २०७६, बुधबार २०:१८

काठमाडौं । म्यानमारकी नेतृ आङ सान सूची त्यहाँका रोहिंग्यामाथिको नरसंहारको अभियोगमा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय अदालतमा उपस्थित भएकी छन् । उनले उक्त आरोप अस्वीकार गर्दै आफ्नो मुलुकको बचाउ गरेको बीबीसीले जनाएको छ । नोबेल शान्ति पुरस्कार विजेता सूचीले बुधबार म्यानमारमा मुस्लिम रोहिंग्यामाथि अत्याचार गरेको आरोपको जवाफ दिँदै आफ्नो मुलुकको बचाउ गरेको समाचारमा उल्लेख छ ।

परम्पराजत पहिरनमै अदालतमा उपस्थित भएकी सूचीले सुरुवातमै उक्त मुद्दा अपुरो र गलत भएको बताएकी हुन् । उनले उक्त हिंसा रोहिंग्याहरुले सरकारी सुरक्षा चौकीमा आक्रमण गर्दा उत्पन्न आन्तरिक सशस्त्र द्वन्द्व भएको बताएकी छन् । उनले म्यानमार सरकारले रखाइन राज्यमा सधैँ चरमपन्थी खतरालाई निस्तेज पार्न जोड दिएको बताइन् ।

उनले द्वन्द्वका क्रममा सैनिकले अनावश्यक बल प्रयोग गरेको हुन सक्ने स्वीकार गर्दै उनले भनेकी छन्, “यदि उक्त द्वन्द्वका क्रममा कसैले अनावश्यक ज्यादती गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिनेछ ।” अन्तर्राष्ट्रिय रुपमा प्रजातन्त्रवादी नेतृत्वको छबि बनाएकी सूची २०१६ देखि म्यानमारको डी फ्याक्टो नेतृ हुन् ।

उक्त नरसंहारका क्रममा नैनिक बल उनको अधिनमा नभएको बीबीसीले जनाएको छ । तर पनि उनले नरसंहारको आरोपको सामना गरिरहेकी छन् । उनले यसअघि पनि म्यानमारमाथि लागेको यो अभियोगको इन्कार गर्दै आएकी छन् । गत नोभेम्बरमा गाम्बियाले अन्तर्राष्ट्रिय अदालतमा म्यानमारमाथि मुद्दा दायर गरेको थियो ।
२०१७ मा म्यानमारको सेनाले अल्पसंख्यक आदिवासी समुदायमाथि बलात्कार, हत्या र शारीरिक यातना दिएको थियो । उनीहरुका घर पनि जलाइएको थियो ।

७ लाख ३० हजार रोहिंग्या म्यानमारबाट लखेटिएपछि आश्रयका लागि बंगलादेश पुगेका थिए । सूचीले अदालतमा उक्त आरोप अस्वीकार गरेपछि बंगलादेशको शरणार्थी क्याम्पमा रहेका मुस्लिम रोहिंग्याहरुले विरोध गर्दै झुट ! झुट ! भन्दै नाराबाजी गरेको बीबीसीको समाचारमा उल्लेख छ । उनीहरुले सूचीले अदालतमा बयान दिएको लाइभ हेरिरहेका थिए । हेगस्थित अन्तर्राष्ट्रिय अदालतको बाहिर पनि रोहिंग्या समर्थकहरुको एक समूहले सूचीको विरोधमा नाराबाजी गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*