अख्तियारमा सबैभन्दा धेरै उजुरी स्थानीय तहका

बाइलाइन नेपाल
२४ मंसिर २०७६, मंगलवार ०९:४६

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहका उजुरी धेरै परेका छन् । हेटौँडा कार्यालयमा चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म ६ सय ९४ उजुरी परेकामा स्थानीय तहसम्बन्धी मात्रै चार सय आठ छन् । संघीय सरकारसँग सम्बन्धित एक सय ८१ र प्रदेश सरकारसँग सम्बन्धित एक सय पाँच उजुरी परेका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा कार्यालयले उजुरी र फस्र्योटको विवरण सार्वजनिक गरेको हो । कार्यालयको तथ्यांकअनुसार स्थानीय तहसम्बन्धी ९१, संघीय सरकारसम्बन्धी ७८ र प्रदेश सरकारसँग सम्बन्धित १६ उजुरी फस्र्योट भएका छन् ।

अख्तियारआतंकले कर्मचारी डराएः पौडेल
मुख्यमन्त्री डोरमणि पौडेलले अख्तियारको आतंकका कारण कर्मचारी डराएको आरोप लगाएका छन् । आयोगको हेटौँडा कार्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा पौडेलले बेनामे उजुरीको संख्या बढ्दो रहेका कारण कर्मचारीमा आतंक फैलिएको जिकिर गरे । ‘अख्तियारमा बेनामे उजुरी बढ्दो छ’ उनले भने, ‘कसले फराउँछ भन्ने डरका कारण काममा समेत प्रभाव परेको छ ।’ उनले कर्मचारीमा डर फैलाउनुभन्दा निष्पक्ष ढंगलले अघि बढ्न कार्यालयलाई सुझाब दिए ।

स्थानीय तहमा पछिल्लो समय अनियमितता बढेका कारण उजुरीको संख्यामा वृद्धि भएको उनको भनाइ छ । पौडेलले स्थानीय तहसँग सम्बन्धित उजुरी कम गराउन सबै जनप्रतिनिधि एकजुट भएर अघि बढ्न निर्देशनसमेत दिए । उनले भ्रष्टाचार निवारणका लागि अख्तियारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

तराईमा बढी काठमाडौंमा न्यून
तराईका जिल्लाका सबैभन्दा धेरै र काठमाडौंको न्यून उजुरी परेको कार्यालयको तथ्यांक छ । हेटौँडा कार्यालयअन्तर्गत रहने १३ जिल्लामध्ये तथ्यांकअनुसार तराईका दुई जिल्ला बारा र पर्साबाट सबैभन्दा धेरै उजुरी दर्ता भएका छन् ।

कात्तिक मसान्तसम्म बाराबाट दुई सय ५५, पर्साबाट एक सय ६५ र काठमाडौंबाट एउटा मात्र उजुरी दर्ता भएका छन् । कार्यालयका अनुसार मकवानपुरबाट एक सय ३६, चितवनबाट ७०, धादिङबाट २०, रामेछापबाट १३, काभ्रेपलाञ्चोकबाट १०, दोलखाबाट ९, सिन्धुपाल्चोकबाट आठ, भक्तपुरबाट तीन, नुवाकोट र रसुवाबाट एकरएक उजुरी दर्ता भएका छन् । कार्यालयको प्रतिवेदनमा १० वटा स्ट्रिङ अपरेसन गरिएको उल्लेख छ । नयाँ पत्रिका दैनिकमा सुदीप शिवाकोटीले लेखेको समाचार साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*