दश वर्ष बन्दुक खेलाएका नेकपा मकवानपुरका नेता बालकृष्ण अहिले फूल गोड्दै

बाइलाइन नेपाल
December 8th, 2019

मकवानपुर । ‘माओवादीमा नलागेको भए म अहिले बालकृष्ण होइन ‘बालकिस्ने’ हुन्थेँ भन्छन्, वालकृष्ण चौंलागाईँ । माओवादीसँगको संलग्नताले आफूलाई समाजमा इज्जतसाथ बस्ने वातावरण मिलेको उनलाई लाग्छ ।

सिन्धुपाल्चोकमा जन्मेका हुन् उनी । ऊ बेला पहाडको जीवन कठिन थियो । खान पनि नपुगेपछि बालबच्चाको लालनपालनमा कठिनाइ महसुशगरी उनका बुवा डिल्लीप्रसाद भारततिर हानिए । उतै नोकरी गरे । बालकृष्णले प्राथमिक शिक्षा पूरा गरेपछि उनीहरु मकवानपुर बसाइँ सरे । हेटौंडानजिकै पर्ने चौघडाको भित्तामा उनीहरु बस्न थाले । बुवा भारतमै । पहाड बेचेर ल्याएको पैसाले मधेसमा के आउँथ्यो र रु माथि भित्तामा जग्गा किने । जंगलको छेउ, बाँदरलाई ख्वाउनबाहेक केही हुदैनथ्यो, वर्ष दिनको कमाइ । अनि बाँदरको मेख मार्न खेतिभन्दा पशुपालन गर्न सुरु गरे ।

बालकृष्ण समयसमयमा बुवासँग कलकत्ता जान्थे । एक दुईवर्ष उतै पढे पनि । पछि नेपाल फर्केर २०४७ सालमा स्कुले शिक्षा पुरा गरेपछि स्थानीय हेटौंडा क्याम्सपमा भर्ना भए । अनि सुरु भयो उनको राजनीतिक जीवन ।

घरमा आमा, बहिनीसहित आफ्नो पनि भरणपोषण गर्नुपर्ने भएकाले उनले नीजि उद्योग युनिलिभरमा काम पनि गर्न थाले । राजनीतिक सोच भएकाले उनी नेपाली भाषा मात्र बोल्थे, सञ्चालक थिए, भारतीय । नेपाली बोल्ने अड्डी लिएकाले उनले बालकृष्णलाई मन पराएनन् ।

रात्रि क्याम्पसको पढाइ, दिनमा उद्योगमा काम, राजनीति पनि सँगै, पढाइ कहाँ राम्रो हुनु ? उनले प्रमाणपत्र तह पास गर्न सकेनन् । उद्योगका सञ्चालकले पनि सकारात्मक रुपमा नलिएपछि उनी काठमाडौं हानिए । “जम्मा १ सय २५ रुप्पे लिएर काठमाडौं गएँ, सय रुप्पे भाडा लाग्यो । तीन दिनसम्म एक पौन पाउरोटीका भरमा काटियो”, उनी सम्झन्छन् ।

उनी सुरुदेखि नै कम्युनिस्ट नजिक रहेर काम गर्थे । कसैले उनलाई कम्युनिस्टले गरिबलाई राम्रो गर्छ भन्ने सुनाइदिएको रहेछ । उनी आफ्नो जीवन सुखी बनाउने नाममा कम्युनिस्ट बनेका थिए ।

काठमाडौंमा ससानो काम गर्दै, राजनीति पनि जारी राखे । गार्मेन्ट उद्योगमा काम गर्थे । यसैबेला उनी माओवादीको स्वास्थ्य विभागमा आवद्ध भए ।

माओवादीको हिंसात्मक द्वन्द बढ्दै गएपछि उनको काम अझ बढ्यो । कामभन्दा बढी राजनीति गतिविधीमा संलग्न भएपछि उनी सुरक्षा घेरामा परे, लुकेर बाँचे । त्यतिबेलासम्ममा उनका बुवा पनि निवृत्त भएर नेपाल फर्किसकेका थिए । बालकृष्णले बुवालाई पनि गार्मेन्टमै जागिर लगाएका थिए । छोरा माओवादी भएको चाल पाएपछि बुवा डराए । सम्झाउने प्रयास गरे तर बालकृष्ण त्यतिबेलासम्ममा ‘कामरेड विकल’ भइसकेका थिए, बुवाका कुरा के सुन्थे र ।

कतै छोराको ज्यान त जाने होइन भन्ने डरले सतायो बूढालाई । पुलिसलाई खबर गरे र छोरालाई पक्राउ गराए । किन बुवा त्यसो गरेको भन्दा अहिले पनि गज्जबले बोल्छन, बूढा, “यसो बिचार गर्दा पुलिसले पक्रेपछि त मार्दैन, जेलमै बस्छ, कमसेकम छोरो त बाँच्छ भन्ने लागेर हो,” ८२ वर्षे यी बूढाको यस्तो जवाफ ।

बहत्तर घन्टा प्रहरी हिरासतमा रहेपछि बालकृष्ण छुटे । अब भने उनलाई पार्टीले पूर्णकालिन कार्यकर्ता बनायो र भूमिगत भए । विवाह भइसकेकाले घर चलाउन पैसा त चाहिने नै भयो ।

ठमेलमा गार्मेन्ट पसल खोले, कमाइ राम्रै भयो सुरक्षा निकायबाट बच्न पनि सजिलो थियो । तर काठमाडौंबाहिरका जिल्लामा काम गर्नुपर्ने भएपछि गार्मेन्ट पनि चलाउने फुर्सद भएन । अब भने सबैथोक छोडछाड गरेर राजनीतिमै समाहित भए, कमरेड विकलका नामले ।

आमा रोगी, घरमा बालबच्चा, बूढा बाबु छोडेर बालकृष्ण माओवादी जनसेनामा आवद्ध भए । वालकृष्णकै कारण वृद्ध बुवाले फेरि सुरक्षा गार्डको जागिर खान सुरु गरे ।

उनी जनसेनामै रहेका बेला २०५८ सालमा आमाको निधन भयो । खोजिको लिस्टमा रहेका उनले काजकिरियासमेत गर्न पाएनन् । आमा बितेको आठौं दिनमा मात्र उनले जानकारी पाए । बाहिर आउनु सजिलो थिएन । “त्यतिबेला आफन्तले गरेको व्यवहार कहिल्यै बिर्सन्न, राम्रा नराम्रा दुवै”, दुःखका दिन सम्झन्छन्, उनी ।

विस २०४७ मै विवाह भइसकेकाले ३ सन्तान भइसकेका थिए । बेलाबेलामा छोराछोरीको मूख हेर्न झुलुक्क आउँथे, फेरि अलप । अर्को दिनदेखि सुरक्षा निकायको घेरा लाग्थ्यो । ससना छोराछोरीसहित घरजम गरेर बसेकी बालकृष्णकी पत्नि मञ्जुलाई खुब केरकार हुन्थ्यो । भाग्य बलियो भन्नु पर्यो, कुनै अप्रिय घटना भएन ।

सासुको काजकिरिया गर्न पनि कठिन थियो मञ्जुलाई । माइती र अन्य आफन्तको सहयोगमा सासुको काजकिरिया गरिन् । लास बेर्ने कात्रो किन्ने पैसा पनि नभएका बेला सासु आमाले सहयोग गरेकाले अझै पनि बालकृष्ण सासुलाई आमाकै दर्जामा हेर्छन् । वर्षमा एक महिना सासुलाई ल्याएर सेवा गर्छन् ।
शान्ति वार्तापछि वालकृष्ण शक्तिखोरमा क्यान्टोनमेन्टमा बसे ।

उनी बिस्तारै साधारण जीवनमा फर्किए । बाह्र वर्ष बितिसकेकाले पूराना सबै सम्बन्ध टुटिसकेका थिए । जीविकोपार्जनको नयाँ बाटो खोज्नुथियो । उनी वाईसीएलमा आवद्ध हुँदै काम पनि गर्न थाले । विभिन्न संघसंस्थामा आवद्ध भए । आफैं पढेको स्कूलको सञ्चालक समितिदेखि खेलकुदसम्म आवद्ध भए ।

बिस्तारै फेरि सामाजिक जीवन सुरु भयो, बालकृष्णको । यतिबेलासम्म छोराछोरी हुर्किसकेका थिए । अहिले उनकी छोरीको विवाह भई नाति नातिनासमेत भइसकेका छन् भने ठूलो छोराले स्नातक सकेर बुहारीसँग विदेश पुगिसकेको छ । सानो छोरो पनि स्नातक अध्ययनरत छन् । त्यसो त वालकृष्णलाई पनि विदेश जान नहौस्याएका होइनन् साथीभाईले । उनी किन टेर्थे र बरु उहिले छोडेको पढाइ पूरा गर्नतिर लागे । प्लस टु पास गरेर देखाइदिए, ४० कटेसी ।

तीन वर्षअघि वालकृष्णले जंगलछेउको जग्गा बेचे । अलि तल बाटो छेउमै बुवाले ३ कट्ठा जमिन जोडेका थिए, त्यहीँ घर बनाए । अहिले उनी पक्की सडक छेउका मुन्डाघरका मालिक भएका छन् ।

दुई वर्षअघि बालकृष्णले यसो बजार अध्ययन गरे । बजारमा फूल निकै महँगोमा बिक्री भएको जस्तो लाग्यो । एग्रोभेटबाट फूलको बीउ ल्याएर यसै छरिदिए । दुईतीन कट्ठामा लगाएको फूलबाट पनि २र३ लाख कमाइ भयो । बालकृष्णले यसलाई ठूलो स्केलमा उत्पादन गर्ने सोच बनाए । तुरुन्तै उनले २ बिघा जमिन भाडामा लिए । त्यसलाई विभिन्न प्लट बनाएर वर्षभरि फूल निकाल्न थाले ।

एउटा प्लटमा जग्गामा करिव ६ हजार विरुवा छन् । एउटा विरुवाबाट २ वटा मालालाई पुग्ने फूल उत्पादन हुन्छ । बालकृष्ण सरदर ७० रुपैयाँमा माला बेच्छन् । यसरी हेर्ने हो भने उनको फूलबाट १२ हजार माला तयार पार्न सकिन्छ । यसो हिसाब गर्दा बालकृष्णको यस प्लटबाट ६र७ लाख कमाइ हुन्छ ।

उनले फूल खेति गर्न थालेपछि सरकारले पनि सहयोग गरेको छ । हेटौंडा उपमहानगरले जोत्ने ट्याक्टर दियो भने कृषि ज्ञान केन्द्र चितवनले फूल चिसो पार्न सानो शितकक्ष बनाउन सहयोग ग(यो । संघीय प्रणाली अन्तर्गत चितवन कृषि ज्ञान केन्द्रले मकवानपुर जिल्लालाई पनि प्राविधिक सेवा प्रदान गर्दछ । अहिले सबै जिल्लामा कृषि तथा पशुसेवाका कार्यालय छैनन् ।

पतिले आफ्नै व्यापार सुरु गरेपछि मञ्जुलाई पनि जोश जाग्यो । हिजो त एक्लै घर चलाएँ भने म पनि के कम भन्ने सोचिछन् । पतिलाई सोधिन्, र केही गर्ने विचार गरिन् । औपचारिक रुपमा एकैकक्षा पढ्न नपाए पनि मञ्जु सितिमिति डग्ने खालकी महिला हाईनन् । उनलाई जीवन सञ्चालनको लामो अनुभव छ ।

सिधै मुख्य मन्त्रीलाई भेट्न गइछन् । कृषि गर्नुहोस् सहयोग गर्छु, भन्ने आश्वासन पाएपछि आएर कम्पनी नै खोलेर तरकारी खेति सुरु गरिन् । नभन्दै पछि प्रदेश सरकारले पनि सहयोग गर्ने योजना अघि सा¥यो तर एक शर्तमा मात्र । त्यो के भने २५ प्रतिशत मञ्जुले लगानी गर्नुपर्ने शर्तमा । जोशिली मञ्जुले कम्मर कसिन् र खोजिन् पाँच लाख रुपैयाँ । अनि बन्यो आधुनिक टनेल ।

खर्च लाग्यो करिव १६ लाख रुपैयाँ । प्रदेश सरकार अन्तर्गतको कन्दमूल वागवानी केन्द्र, सिन्धुलीबाट करिव साढे नौलाख र मञ्जुको करिव साढे ६ लाख, जम्मा गरी १६ । अहिले मञ्जुले सो टनेलमा बेसरी गोलभेंडा फलाएकी छन् । यसै साल ऋण तिर्ने उनको उद्देश्य छ । अहिलेसम्ममा करिव लाखको कमाइ पनि भइसकेको छ । “यस्ता काम त कति गरियो गरियो, म एक वर्षमै सबै ऋण तिरेर अर्को वर्षदेखि त कमाउन पो थाल्छुु,” उनी प्रफुल्लित मुद्रामा देखिन्छिन् ।
अहिले बालकृष्ण र मञ्जु आआफ्नो व्यापारमा रमेका छन् । लडाकूबाट कृषि अभियन्ता बनेका बालकृणलाई सरकारदेखि छरछिमेकी सबैले सहयोग गरेका छन् । उनी नियमित रुपमा सरकारी निकायहरुमा सम्पर्क राख्छन् । तालिम, गोष्ठी, संवाद, भ्रमणलगायतका दक्षता अभिवृद्धिमा आवद्ध हुन्छन् । उनले भर्खरै नयाँ फूल पनि रोपेका छन् भने अर्को लटका लागि जमिन तयार गर्दैछन् ।

हाल बालकृष्ण मकवानपुर जिल्लाभर फूल खेति विस्तार गर्ने अभियानमा जुटेका छन् । एकदुई वर्षमा गाडी चढ्ने किसान बन्ने उनको लक्ष्य छ । राजनीतिमा लागेका मानिसको ऐय्यासी जीवनशैलीबाट भने उनी वाक्क छन् । छानबिन हुनुपर्ने उनको मान्यता छ । “उसको कुनै वन्दव्यापार छैन तर भैंसी बाँध्ने दाम्लोजत्रो सिक्री लगाएर हिँड्छ, कसरी संभव छ, बदमासी बिना ? ”, उनको प्रश्न छ ।”

हिजो बन्दुक समाएका हातले आज फूल स्याहारेका छन् । २०र३० हजार कमाउन खासै ठूलो लगानी नलाग्ने उनको अनुभव छ । ससानो रकम आर्जन गर्न विदेश जानै पर्छ भन्ने पनि उनलाई लाग्दैन । उनलाई पनि युरोप छिरौं भन्ने कति आए कति, तर आमाको काजक्रियाभन्दा देशको मुक्तिलाई ठूलो ठान्ने उनी कुन मूखले विदेशिन्थे र रु कसैले कति कन्भिन्स गरे पनि उनमा कुनै परिवर्तन आएन ।

जेहोस् युनिलिभरको कामदारबाट सुरु भएको बालकृष्णको जीवन यात्रा कामरेड विकल हुँदै फेरि बालकृष्णमा आइपुग्दा करिव ३ दशक बितेको छ । उनी अहिले पनि हेटौडा, चौघडामा उदाहरणीय किसानका रुपमा स्थापित छन् । सरल पत्रिकामा बद्री ओझाले लेखेको फिचर साभार गरेका हौ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*