नास्टको ४३ औं प्राज्ञसभाको यस्ता छन् निर्णय

बाइलाइन नेपाल
१७ मंसिर २०७६, मंगलवार १०:५७

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को ४३ औं प्राज्ञ सभाले विभिन्न निर्णय गरेको छ । प्रज्ञा प्रतिष्ठानका सहकुलपति माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बैठक बसेको थियो ।

बैठकले प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) का कुलपति खड्गप्रसाद शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले आर्थिक वर्ष २०७५÷०७६ मा प्रज्ञा–प्रतिष्ठानबाट सम्पन्न गरिएका कार्यहरुको प्रगति विवरण सहितको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने निर्णय गरेको छ । नाष्टको आर्थिक वर्ष २०७६÷०७७ को कार्यक्रमहरु संचालन गर्नको लागि ४३ करोड १८ लाखको वार्षिक कार्यक्रम वजेट स्वीकृत गरेको छ ।

बैठकले नाष्टद्वारा ४ वटा पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । जसमा दुई लाख राशीको कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार–१ जनालाइ, ७५ हजार राशीको महिला विज्ञान तथा प्रविधि पुरस्कार–१ जनालाई, ७५ हजार राशीको विज्ञान शिक्षक पुरस्कार (प्लस टु सम्म)–१ जनालाई, २५ हजार राशीको उत्कृष्ट विद्यार्थी पुरस्कार (प्लस टु सम्म छात्र–१, छात्रा–१) गरी २ जनालाई दिने गरी पुरस्कार स्थापना गर्ने निर्णय गरिएको छ ।

यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानद्वारा २०७६ सालमा १६ वटा पुरस्कारहरु २७ जनालाई प्रदान गर्ने निर्णय गरेको छ । जसमा विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार, कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार, विज्ञान पुरस्कार, प्रविधि पुरस्कार, विज्ञान तथा प्रविधि युवा पुरस्कार, महिला विज्ञान तथा प्रविधि पुरस्कार, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार, विज्ञान प्रविधि पत्रकारिता पुरस्कार, दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।

यसैगरी, फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार, नबिल विज्ञान तथा प्रविधि पुरस्कार, मोहनध्वज बस्नेत प्रज्ञा पुरस्कार, जीत बहादुर नकर्मी धातु पुरस्कार, भुवनेश्वर प्रविधि पुरस्कार, विज्ञान शिक्षक पुरस्कार, विज्ञान विद्यार्थी पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

बैठकले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरुको तलवमान र ग्रेडमा नेपाल सरकारले २०७६ श्रावण १ गतेदेखि लागु हुने गरि सुरु तलवमानमा राजपत्रअनंकित कर्मचारीहरुको लागि २०% र राजपत्रांकित कर्मचारीहरुको लागि १८% को दरले वृद्धि गरि खाईपाई आएको ग्रेडमा नघटने गरि प्रदान गर्ने गरि गरेको निर्णयलाई आधारमानि सोही अनुसार प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरुको तलबमान पदाधिकारी र राजपत्रांकित कर्मचारीहरुलाई १८% र राजपत्रअनंकित कर्मचारीहरु लाई २०% का दरले बृद्धि गरि प्रदान गर्न अर्थ मन्त्रालयको सहमति लिई प्रदान गर्ने निर्णय गरियो ।

बैठकले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको कार्यक्रमहरुमा गरिने खर्चहरुको एक रुपता ल्याउन खर्चको मापदण्ड सम्बन्धी कार्यविधि २०७६ लाई नेपाल सरकार सरहको हुने गरि अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसंग छलफल गरि “खर्चको मापदण्ड सम्बन्धी कार्यविधि २०७६” लाई स्वीकृत गर्ने निर्णय गरियो ।

यस्तै बैठकले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रयोगशालामा कार्यरत कर्मचारीहरुलाई जोखिम भत्ता वितरण गर्ने सम्बन्धमा तयार पारिएको प्रयोगशाला जोखिम भत्ता व्यवस्थापन निर्देशिका २०७४अर्थ मन्त्रालयसंग सहमति लिई स्वीकृत गर्ने निर्णय गरियो ।

यसैगरी बैठकले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानबाट प्रविधिको क्षेत्रमा क्रियाशिल सर्जकहरुलाई प्रोत्साहन र क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने, आफ्नै प्रयासमा वैज्ञानिक व्याख्या र उपयोगिता सहित विकसित नविनतम सिर्जनात्मक प्रविधिका प्रवर्तकहरुलाई अनुसन्धानको लागि सहयोग र निजबाट विकसित प्रविधिमा सुधार गर्न समेत सहयोग पु¥याउने उद्देश्यले तयार पारिएको “सम्बृद्धिको लागि नवप्रवर्तन कार्यक्रम अन्तर्गत प्रविधि विकासको लागि अनुदान वितरण सम्बन्धी कार्यविधि, २०७६”लाईस्वीकृत गर्ने निर्णय गरियो ।

यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा भवन, आवास र बस्ती विकास सम्वन्धी अनुसन्धानको प्रवद्र्धन गर्ने तथा उपयुक्त प्रविधिको पहिचान र प्रविधि हस्तान्तरणको सहजिकरणको लागि “राष्ट्रिय भवन अनुसन्धान केन्द्र” स्थापना स्वीकृति प्रदान गर्ने र सोको स्थापना सम्वन्धमा कार्यविधि तयार गरि व्यवस्थापन परिषद मार्फत कार्य संचालन अगाडी बढाउने निर्णय गरियो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा विगत १० वर्षदेखि करारमा कार्यरत वैज्ञानिक, प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुलाई स्थायी गर्ने सम्बन्धमा अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसंग आपसि सहमति लिई आवश्यक कार्य अघि बढाउने निर्णय गरियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*