भारतसँग चुक्यो नेपाली महिला भलिबल टोली

बाइलाइन नेपाल
१२ मंसिर २०७६, बिहीबार १९:२५

दक्षिण एसियाली देशहरुमा महिला भलिबल तर्फ पावर हाउसका रुपमा रहेको भारतसँग नेपाली राष्ट्रिय महिला भलिबल टोली पुन एक पटक चुकेको छ।

घरेलु दर्शनको साथ पाएको महिला टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समूह चरणको अन्तिम खेलमा भारतसँग ३-० को सोझो सेटमा पराजित हुन पुग्यो।

महिला भलिबल तर्फ नेपालले अहिलेसम्म कहिलै पनि भारतमाथि जीत हासिल गर्न सकेको छैन । बंगलादेशमा अघिल्लो महिना सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलमा स्वर्ण जीतेको नेपाली महिला टोली उच्च मनोबलका साथ मैदान उत्रिए पनि भारतसामू भने राम्रो लय समात्न सकेन ।

खेलको अन्तिम तथा निर्णायक सेटमा नेपालले भारतसँग कुनै पनि समय अग्रता बनाउन सकेन । नेपाललाई दोस्रो र तेस्रो सेटमा भारतले निरन्तर दबाबमा राखेको थियो। जसमा नेपाल अन्तिम सेटमा २५-१६ स्कोरमा पराजित भयो।

पहिलो सेट प्रतिस्पर्धात्मक खेलेको नेपाल दोस्रो सेटमा २५-१२ को सोझो सेटमा पराजित हुन पुग्यो। खचाखच भरिएको कभर्डहलमा हौसिएका नेपाली खेलाडीले पहिलो सेटमा १५-१५ स्कोरसम्म बराबरी खेलेपनि त्यसपछि लगतार अग्रता बनाएको थियो।

जसमा अन्तिमसम्म २४-२२ को अवस्थामा पुगेको खेलमा भारतले उत्कृष्ट कमब्याक गर्दै नेपालमाथि २६-२४ को जित हात पार्यो । नेपाली टोलीले बुधबार भएको पहिलो खेलमा बंगलादेशमाथि ३-० को सोझो सेटमा जीत हात पारेको थियो।

शुक्रबार हुने खेलमा भारतले बंगलादेशलाई पराजित गरे नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ।

सेमिफाइनलका खेल शनिबार हुनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*