मकवानपुरमा पुनर्निर्माण सुस्त, १० हजार पीडितसँग अझै भएन अनुदान सम्झौता

बाइलाइन नेपाल
१२ मंसिर २०७६, बिहीबार ०९:०७

हेटौंडा । ०७२ को भूकम्पले धनजनको ठूलो क्षति पुर्‍याएको साढे चार वर्ष बितिसकेको छ । तर, मकवानपुरमा अझै ६ हजार भूकम्पपीडितसँग अनुदान सम्झौता हुन सकेको छैन ।अति प्रभावित जिल्लामा समेटिएको मकवानपुरमा ३० हजार दुई सय ३८ जनालाई भूकम्पपीडितका रूपमा पहिचान गरिएको छ । तीमध्ये हालसम्म १० हजार पाँच सयजना भूकम्पपीडितसँग अनुदान सम्झौता नभएको जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार मकवानपुर०को तथ्यांकमा उल्लेख छ ।

अनुदान सम्झौता नभएका मध्ये पाँच हजार पाँच सय पूर्ण र पाँच हजारजना आंशिक क्षति भएका पीडित रहेको आयोजना कार्यान्वयन एकाइले जनाएको छ । सम्झौता नहुनुमा मुख्य समस्या ऐलानी जग्गा रहेको एकाइप्रमुख विमलकिशोर केपीले बताए । ऐलानी जग्गालाई अनुदान दिन नमिल्ने कारणले सम्झौता गर्न बाँकीको संख्या धेरै देखिएको उनको भनाइ छ ।

‘जिल्ला समन्वय समितिमार्फत ऐलानी जग्गालाई अनुदान दिने प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘ऐलानी जग्गा भएका लागि अनुदान दिँदा पाँच हजार बढी पीडित सम्झौता नभएको संख्याबाट हट्नेछन् ।’ उनले दुई हजार तीन सय ८६ जनाको ऐलानी जग्गा भएकालाई अनुदान दिने निर्णय भइसकेको जानकारी दिए ।

वास्तविक पीडित नभएको, सम्पर्कमा नआउने र गुनासो नआएका कारण पनि सम्झौता हुन बाँकी देखिएको एकाइप्रमुख केपीले बताए ।

हेटौँडा उपमहानगरमा सबैभन्दा बढी
सम्झौता नभएका मध्ये सबैभन्दा बढी हेटौँडा उपमहानगरवासी छन् । ६ हजार ६३ जना भूकम्पपीडितमध्ये हेटौँडा क्षेत्रभित्रका एक हजार पाँच सय ९४ जनासँग अनुदान सम्झौता हुन बाँकी छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार मकवानपुर०को तथ्यांकअनुसार थाहा नगरपालिकामा ६ हजार नौ सय १९ पीडितमध्ये सात सय दुई, इन्द्रसरोवर गाउँपालिकामा दुई हजार नौ सय २३ मध्ये तीन सय ४०, कैलाश गाउँपालिकामा दुई हजार एक सय नौमध्ये दुई सय ९२, बकैया गाउँपालिकामा ४ सय १८ मध्ये १ हजार एक सय ७७ जनासँग सम्झौता नभएको उल्लेख छ ।

त्यसैगरी, बाग्मती गाउँपालिकामा दुई हजार पाँच सय १२ मध्ये एक सय ८१, भीमफेदीमा तीन हजार दुई सय चारमध्ये ६ सय २४, मकवानपुरगढीमा दुई हजार दुई सय १७ मध्ये तीन सय ७६, मनहरीमा दुई हजार तीन सय ३७ मध्ये सात सय १० र राक्सिराङ गाउँपालिकामा एक हजार सात सय १५ मध्ये एक सय ३० जना पीडितसँग सम्झौता हुन बाँकी रहेको एकाइले जनाएको छ ।

१८ हजारले पाए तेस्रो किस्ता
जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार मकवानपुर०को तथ्यांकअनुसार हालसम्म १८ हजार २० जना भूकम्पपीडितले तेस्रो किस्ता लिएका छन् । एकाइका अनुसार पहिलो किस्ता लिने २८ हजार एक सय ९१ जनामध्ये २२ हजार तीन सय ९६ जनाले दोस्रो र १८ हजार २० जनाले तेस्रो किस्ता लिएका हुन् ।

मकवानपुरमा १२ हजार नौ सय ४६ जना प्रबलीकरण लाभग्राही छन् । हालसम्म दुई हजार पाँच सय २१ लाभग्राहीसँग मात्र प्रबलीकरण सम्झौता भएको छ । नयाँ पत्रिकाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*