टुटल र पठाओलाई यथास्थितिमा सञ्चालन गर्न दिनु : यातायात मन्त्री नेम्वाङ
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायत मन्त्री बसन्त नेम्वाङले टुटल र पठाओलाई यथास्थितिमा सञ्चालन गर्न दिन निर्देशन दिएको छ । मन्त्री नेम्वाङले यातायात व्यवस्था विभागका महार्निेशक गोगनबहादुर हमाललाई यस्तो निर्देशन दिएका हुन् ।
नयाँ मन्त्री नियुक्त हुँदै गर्दा विभागले सूचना जारी गरेको र सो सूचनाले आफूलाई विवादमा पार्न खोजिएको भन्दै मन्त्री नेम्वाङले तत्तकाल सो व्यवस्था कार्यान्वयनमा नल्याउन निर्देशन दिएका हुन् । मन्त्री नेम्वाङले आफूले अर्को निर्णय नगर्दा सम्मका लागि यथास्थितिमा सञ्चालन गर्न दिनु आग्रह पनि गरेका छन् ।
यसअघि यातायात व्यवस्था विभागले निजी प्रयोजनका लागि दर्ता भएका सवारीलाई भाडाको सवारी बनाए कारवाही गर्ने चेतावनी दिएको थियो । निजी प्रयोजनका लागि दर्ताको प्रमाणपत्र प्राप्त सवारीसाधनहरु भाडामा लिएर यात्रु ओसारपसार गर्न प्रयोग भएको गुनासोका आधारमा विभागले यस्तो कार्य नगर्न नगराउन सैब निजी सवारीधनी वा सञ्चालकलाई जानकारी गराएको थियो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२) मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न नपाइने’ उल्लेख छ । यस्तै दफा १२ मा ‘कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न नपाइने’ कानुनी व्यवस्थासमेत छ ।
यस्तो कार्य हाल टुटल र पठाओले गरिरहेको विभागको दाबी छ । यसअघि पनि विभाग र ट्राफिक प्रहरीले टुटल र पठाओलाई कारवाही थालेको थियो । फेरि नयाँ सूचना सार्वजनिक भएपछि अब कस्तो कारबाही हुन्छ ? ऐनको सजायको व्यवस्था समेटिएको दफा १६० को उपदफा २(क) मा दफा १२ विपरीत काम कारवाही गर्ने गराउनेलाई पाँच सयदेखि दुई हजार रुपैयाँसम्म हुने व्यवस्था छ ।

बाइलाइन नेपाल











