हेटौंडामा एकैपटक चार सयले गरे आँखा दान
हेटौंडा । मकवानपुरको हेटौंडामा एकैपटक करिब चार सय जनाले आँखा दान गरेका छन् । हेटौंडामा आयोजित कार्यक्रममा जिल्लाका ३ सय ९८ जनाले मरणोपरान्त आँखा दान गरेका हुन्।
“रक्तदान जीवन दान“ “आँखा दान महादान“ भन्ने अभियानसंगै हेटौंडाको गोल्डेन यातायात प्रालिको आयोजना तथा जनसरोकार केन्द्र, मकवानपुरको सहकार्यमा शनिबार हेटौडामा भएको कार्यक्रममा मरणोपरान्त आँखा दान गर्ने कार्यक्रमको आयोजना भएको थियो ।
कार्यक्रममा आँखा दान गर्नेहरुले ईच्छापत्रमा सही गरेका थिए । इच्छापत्रहरु कार्यक्रममा प्रदेस ३ का सभामुख सानु कुमार श्रेष्ठ मार्फत सामुदायिक आँखा अस्पताल हेटौंडालाई हस्तान्तरण गरिएको छ ।
आँखादान जस्तो महान कार्य गर्न मानिसमा जनचेतना जगाउदै सबैले आँखादान गरी संसार देखाउने जस्तो पुन्य कार्य अरु नभएकोले यस्तो कार्य सबैले गर्न र गराउन सहयोग गर्न कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तीन नम्बर प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले आग्रह समेत गरे । कार्यक्रममा आंखादान संगै ८७ जनाले रक्तदान समेत गरेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जनसरोकार केन्द्र, मकवानपुरका संयोजक ध्रुबप्रसाद चौलागाई, नेपाली कांग्रेस मकवानपुर जिल्लाका प्रचार प्रमुख प्रदिप कोईराला लगायतका अतिथिहरुले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व र कार्यक्रम वारे सुधिर थापाले प्रकाश पारेका थिए ।

बाइलाइन नेपाल











