प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण
प्रदेश नम्बर ३ लोकसेवा आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठले सपथ ग्रहण गरेका छन् । प्रदेश कार्यालय हेटौंडामा सोमबार आयोजना भएको कार्यक्रममा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
नेपाल सरकारका पूर्व सचिव समेत रहेका श्रेष्ठलाई प्रदेश सरकाले केही दिन अघि लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गरेको थियो ।
कार्यक्रममा प्रदेश प्रमुख प्रसाईँले प्रदेश लोकसेवा आयोगका अध्यक्षको कार्यकाल सफल बनाउनका लागि आग्रह गरे । उनले प्रदेशमा निष्पक्ष रुपमा काम गरेर संघीयतालाई मजबुद बनाउने तर्फ लाग्न अनुरोध गरेका थिए ।
सपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंङ्गेल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेशका प्रमख सचिव तोयम राय, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलगायतकाको सहभागिता रहेको थियो ।
लमजुङ जिल्लाको दुरा डाँडामा २०१५ साल चैत ४ गते जन्मिएका श्रेष्ठले २०४१ सालमा नेपाल सरकारको शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका थिए । अधिकृत, उपसचिव, सहसचिवहुँदै सचिवका रुपमा पाँच वर्ष श्रेष्ठले काम गरेका थिए ।

बाइलाइन नेपाल











