प्रदेश ३ का सांसदको गुनासोः प्रदेश अधिकारविहीन

बाइलाइन नेपाल
१ मंसिर २०७६, आईतवार १८:१७

प्रदेश ३ का सांसदले प्रदेश संसद् र सरकार अधिकारविहीन भएको गुनासो गरेका छन् । संघीय व्यवस्थामा प्रदेश शक्तिशाली हुनुपर्ने भए पनि प्रदेश सभा र सरकारलाई शक्तिविहीन बनाएर केन्द्रले अधिकार हातमा लिएको उनीहरूको आरोप छ । फ्रिडम फोरमको आयोजना र संसद् सहयोग परियोजना युएनडिपीको सहकार्यमा शनिबार काठमाडौंमा भएको खुला संसद् अवधारणा तथा अभ्यासबारे छलफल कार्यक्रममा बोल्ने सांसदले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रदेश सांसदलाई शक्तिविहीन बनाउँदा प्रदेश संरचनाको औचित्यमाथि नै प्रश्न उठेको बताए । ‘संघीय व्यवस्थापनमा प्रदेश सरकार शक्तिवान् हुनुपर्ने हो,’ उनले भने, ‘तर यहाँ प्रदेशलाई शक्तिविहीन बनाइएको छ, यसले संघीयतालाई नै कमजोर बनाउँछ ।’

विवेकशील पार्टीका सांसद रमेश पौड्यालले प्रदेश शक्तिशाली नबनाएसम्म संघीयता सफल हुन नसक्ने बताए । सांसद विराजभक्त श्रेष्ठले संविधान नै पूर्ण नभएकाले समस्या सिर्जना भएको दाबी गरे । ‘संविधानमा प्रदेशलाई बलियो बनाएजस्तो गरे पनि केन्द्रले संघीयता टिकाउन संसद् र सरकारलाई शक्ति विकेन्द्रीकरण गर्न सकेन,’ उनले भने ।

सार्वजनिक लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठले राजधानी टुंग्याउन दुईतिहाइको सरकार असफल भएको आरोप लगाए । उनले सरकारको मन नै अस्थायी मानसिकताको भएकाले काम गर्न निकै समस्या भएको दाबी गरे ।

सरकारले बिजनेस दिएन स् सभामुख श्रेष्ठ
प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले संसद्मा बिजनेस नै नभएको बताए । उनले सरकारले संसद्लाई बिजनेस दिन नसक्दा लामो समयदेखि संसद् बैठक स्थगित गर्नुपरेको बताए ।

‘सरकारले बिजनेस दिएको छैन’ सभामुख श्रेष्ठले भने, ‘बिजनेसविना संसद् सञ्चालन गरेर टाढाटाढाबाट आउने सांसदलाई एक–दुई दिनका लागि मात्र बोलाउन समस्या हुन्छ ।’ उनले राजधानी र नामकरणको सबालमा दलगत सहमति जुट्नुपर्ने बताए ।

‘सहमतिबाटै राजधानी र नामकरण टुंग्याउनुपर्छ,’ उनले भने, ‘तर यहाँ सरकारले नै ढिला गरिरहेको छ ।’ खुला संसद्को सबालमा प्रदेश ३ ले केही अभ्यास थालेको सभामुख श्रेष्ठले दाबी गरे । नयाँ पत्रिकाका लागि सुदीप सिवाकोटीले लेखेको समाचार साभार गरेका हौ । –सम्पादक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*