मकवानपुरको पानी काठमाडौं लैजान २६ अर्ब लाग्ने
मकवानपुरस्थित सिस्नेरी खोला खानेपानी आयोजना निर्माण सम्पन्न गर्न झण्डै २६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको पूर्वसम्भाव्यता अध्ययनअनुसार सिस्नेरी खानेपानी आयोजनाको काम सम्पन्न गर्न करिब २६ अर्ब लगानी आवश्यक पर्ने देखाएको हो ।
बोर्डले ललितपुर जिल्लाभरी खानेपानी आपूर्ति गर्नका लागि मकवानपुरस्थित सिस्नेरी र कोगटे खोलाको पूर्वसम्भाव्यता अध्ययन थालेको छ । बोर्डका कार्यकारी निर्देशक डा। संजिव विक्रम राणाले सिस्नेरीमा बाँध बाँधेर खोलाको पानी संकलन गर्ने र उपत्यकामा पठाइने बताए । कार्यकारी निर्देशक राणाले दैनिक १३ देखि १४ करोड लिटर पानी ललितपुरको सैंबु जलाशयमा पठाई ललितपुर क्षेत्रभित्र वितरण गर्न सकिने बताए ।
अहिले पूर्व सम्भाव्यता अध्ययन गर्दा करिब २६ अर्ब लगानी आवश्यक पर्ने उनको भनाई छ । ‘मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने तयारी भईरहेको छ, उनले भने, ‘यो उपत्यकाका लागि मेलम्चीको विकल्पका रुपमा दोस्रो ठूलो आयोजना हुनेछ ।’
आयोजनास्थल फर्पिङ पम्पिङ स्टेशनबाट १४ किलोमिटर दक्षिणमा पर्दछ । जुन कुलेखानी खोला, सिस्नेरी खोला र मकवानपुर जिल्ला हुँदै बगेको बागमती नदीको नजिक पर्दछ । सिस्नेरीमा रहेको कोगटे खोला कुलेखानीको शाखा हो भने कुलेखानी बागमती नदीको शाखा हो ।
आयोजना अन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगटे खोला र कुलेखानी खोलाको पानी वर्षायामको समयमा संकलन गरिनेछ र संकलित पानीलाई पम्प गरी सैंबु जलाशयमा पठाई ललितपुर महानगर क्षेत्रभित्र वितरण गरिनेछ ।
सिस्नेरीमा बनाईने बाँधको लम्बाई १९० मिटर र चौडाई ७५ मिटर रहने कार्यकारी निर्देशक राणाले जानकारी दिनुभयो । सिस्नेरी बाँध स्थलदेखि सैंबु पानी प्रशोधन केन्द्रसम्म कूल १९ किलोमिटर रहेको छ । निर्माणाधीन काठमाडौं निजगढ द्रुत मार्ग हुँदै सिस्नेरीदेखि सैंबुसम्म पाईप लाईन निर्माण गरेर पानी लैजान सकिने राणाले बताए ।

बाइलाइन नेपाल











