भीमफेदी कारागारका तत्कालिन जेलर थापा विरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा
हेटौंडा । मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय कारागारको लामो समय जेलरका रुपमा रहेका चिरञ्जीवी थापाविरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जेलर थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर भएको हो ।
अख्तियारले विशेष अदालतमा दायर अभियोग पत्रमा सेवा प्रवेश गरेको मिति ४ जेठ २०५४ देखि आर्थिक वर्ष २०७५÷०७६ सम्म १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ अवैध रुपमा आर्जन गरेका दाबी गरिएको छ ।
अख्तियारका अनुसार थापाले अवैध रुपमा आर्जन गरेको सम्पत्ति आफ्नी श्रीमती गोमा कट्टेल थापाको नाममा राखेको पनि देखिएको छ । अख्तियारले थापासहित उनकी श्रीमती गोमाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले थापाविरुद्ध १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ बिगो असुल उपर गरी बिगोअनुसार जरिवाना र सम्पत्ति जफतसहित २ वर्ष कैद सजायको मागदाबी गरेको छ ।
यस्तै, थापाकी श्रीमतीको नाममा रहेको सम्पत्ति जफतको मागदाबी गर्दै उनीविरुद्ध अभियोग पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

बाइलाइन नेपाल











