हेटौंडाका अञ्जन विष्टसहित चार फुटबलर माथि एन्फाको कारबाही

बाइलाइन नेपाल
३० कार्तिक २०७६, शनिबार १९:४७

हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिममा पहिलो रोजाइमा रहेका हेटौंडाका अञ्जन विष्टसहित चार जना खेलाडीलाई कारबाही गरेको छ । उनिहरुलाई राष्ट्रिय टिमबाटै हटाइएको छ ।

विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्ने टोलीमा परेका अञ्जनसँगै विमल घतीृमगर, दिनेश राजवंशी र सन्तोष तामाङलाई एन्फाले कारबाही गरेको हो । चारै जना भुटान जानु अघिल्लो रात शुक्रबार राति ठमेलको नाइट क्लबमा पुगेका थिए ।

अनुशासन उल्लंघन गरेका उनीहरुलाई तत्काल टिमबाट निकालिएको र थप कारबाही बारे एन्फाको आगामी बैठकले निर्णय लिने प्रवक्ता किरण राईले बताए । उनले भने, ‘ठमेलको नाइट क्लबमा गएर मातिएको अवस्थामा भेटिएपछि विमल, अञ्जन, दिनेश र सन्तोषलाई टिमबाट तत्कालको लागि हटाइएको छ ।’

नेपाली टिम शनिबार कुवेतविरुद्ध खेल खेल्न भुटान जाने कार्यतालिका थियो । नेपालले मंसिर ३ गते कुवेतविरुद्ध खेल्दैछ । तर चार खेलाडी टिमबाट निकालिँदा कुवेतविरुद्ध हुने खेल समेत प्रभावित हुनेछ । किनकी कारबाहीमा परेका चारै खेलाडी नेपाली टोलीको पहिलो रोजाईका सदस्यहरु हुन् ।

एन्फा प्रवक्ता राईले पनि त्यसलाई स्वीकार गरे । उनले भने, ‘यसले टिममा निकै ठूलो असर पारेको छ । तर हामीसँग अन्य खेलाडी पनि एकसेएक छन् ।’
चार जना खेलाडीलाई टिमबाट हटाएर सुबास गुरुङलाई टिममा समावेश गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*