गाईगोरु भारत तस्करी गर्ने ट्रकसहित दुईजना पक्राउ
४९ वटा पशुचौपाया ट्रकमा हालेर भारततर्फ तस्करी गर्ने दुई ट्रकसहित दुईजना झापामा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले भारततर्फ तस्करी गरिरहेको अवस्थामा कन्काई नगरपालिका–३ तुलसीवारीवाट ट्रक, गोरु र व्याक्तिलाई पक्राउ गरेको हो ।
ना ५ ख ५९४६ र ना ६ ख ३८४१ नम्बरको दुई वटा ट्रकबाट ४९ वटा पशु चौपाया गोरु र चालकलाई पक्राउ गरिएको विर्तामोडका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनकुमार थापाले बताए । थापाका अनुसार नियन्त्रणमा लिइएका ट्रक र चालक सहित आवश्यक कारवाहीको लागि भद्रपुर भन्सार कार्यालय, झापा पठाइएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा उक्त गोरुहरु नवलपरासीवाट सोही स्थान बस्ने प्रमोद यादवले कन्काई नगरपालिका ३ वस्ने रमेश खरेललाई वुझाउने गरी पठाइएको खुलेको छ । ट्रकका चालक वारा निजगढका विर वहादुर थिङ र नवलपरासीका विजय चौधरी समेतलाई आवश्यक कारवाहीको लागि पठाइएको डीएसपी थापाले बताए ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद –२७ मा पशुपक्षी सम्बन्धी कसूरको वारेमा उल्लेख गरिएको छ । उक्त संहिताको दफा २८९. मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन । त्यस्तो काम कारवाहीवाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद हुनेछ भन्ने व्यवस्था गरेको छ । कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पुर्याएमा पचास हजार रुपैयासम्म जरिबाना हुने व्यवस्था छ ।
उक्त संहिताको दफा २९० मा कसैले कुनै पशुपक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामथ्र्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफुले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न हुँदैन । उक्त कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

बाइलाइन नेपाल











