२१ वर्षीया युवतीका कारण कानुन बदल्न बाध्य भयो इरान
खेल मैदानमा महिला प्रवेश गर्न नपाउने इरानी कानूनबारे २१ वर्षीया शेहर खोडयारी जानकार थिइन्। तर उनी जसरी भए पनि फुटबल म्याच हेर्न चाहन्थिन्। संसारभरका करोडौं महिलाले सजिलै प्राप्त गरिरहेको यो अवसर आफूले पनि पाऊँ भन्ने उनको यो सामान्य इच्छा थियो।
गत मार्चमा उनको मनपर्ने टिम मैदानमा उत्रियो। शेहरले पुरुषका लुगा लगाएर भए पनि फुटबल हेर्ने जिद्दी गरिन्। निलो रङको नक्कली कपाल र लामो ओभरकोट लगाएर उनी तेहरान आजाद स्टेडियमतिर लम्किन्। तर स्टेडियमभित्र प्रवेश गर्नुअघि बाटोमै सुरक्षाकर्मीले उनलाई पक्रिए।
‘गैरकानुनी’ हर्कत गरेको आरोपमा उनलाई अदालतले पक्राउ पूर्जी पठायो। उनले अदालतअगाडि नै आत्मदाह गरिन्। शरीरको ९० प्रतिशत भाग जलेर घाइते भएकी उनलाई अस्पताल पुर्याइएको थियो। दुई सातापछि तेहरानको अस्पतालमा उनले प्राण त्यागिन्।
उनको मृत्युपछि सामाजिक सञ्जालहरूमा व्यापक अभियान चल्न थाल्यो। महिलाहरूले पनि स्टेडियममा बसेर खेल हेर्न पाउनुपर्ने आवाज उठ्यो। अभियानमा इरानी महिलाहरूको पनि उत्तिकै सहभागिता थियो। सामाजिक सञ्जालमा संसारभरका मान्छेले इरानी सरकारको विरोध गरे।
चौतर्फी दवाबपछि इरान सरकार महिलाले स्टेडियममा प्रवेश गर्न नपाउने नियम खारेज गर्न बाध्य भयो।

बाइलाइन नेपाल











